
काठमाडौं । आन्तरिक विवादबाट गुज्रिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटेको छ । महामन्त्री धवल शमशेर राणासहित नेताहरूले आज पार्टी त्यागको घोषणा गरेसँग राप्रपा औपचारिक रुपमा विभाजन भएको हो ।
पार्टी परित्याग गर्नेहरुमा शीर्ष नेतासहित एक सय ८३ जना रहेका छन् । राणासँगै उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावतीलगायतले राप्रपा परित्याग गर्नभएको हो । पार्टी छाड्नेमा अधिकांश केन्द्रीय र प्रदेश सदस्य छन् । आज पत्रकार सम्मेलन गर्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा हुनेसमेत बताउनुभयो । ४ वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रिएको उहाँको भनाइ छ ।
राप्रपाभित्र चार वर्षदेखि अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणा पक्षबीच शक्ति संघर्ष रहँदै आएको थियो । संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ्ने पार्टीको नीतिविरुद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ । राणा पक्षले भने अध्यक्षले स्वेच्छाचारी ढंगले फरक मत राख्ने नेता तथा कार्यकर्तालाई कारबाहीको ‘डण्डा’ चलाएको भन्दै त्यसविरुद्ध संघर्ष गरेको बताएको छ । गत चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाडौंमा भएको भेलाले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गरेको थियो । भेलाले अध्यक्ष लिङ्देनलाई ३ बुँदे पत्र पठाउँदै जेठमा महाधिवेशन गर्नेगरी मिति तोक्न माग गरेको थियो । तर संस्थापन पक्षले असन्तुष्ट पक्षको माग सम्बोधन गरेन ।