काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यात्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यात्नुभएको हो ।
उहाँले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो,' 'सामान्यतया म आफूले आफैँलाई हेर्दाखेरी कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । रिस पनि उठ्छ । कहिलेकाहीँ रिस पनि पोखिन्छ । तर एकछिन पछि सेलाउने, मन बुझाउने खालको मान्छेको रुपमा मैले आफूलाई ठान्छु । तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा पर्यो । त्यो दिनदेखि म यसरी तातिएको छु कि, यो यसरी च्यातेर, यसरी हुर्याउने मन छ ।'
उहाँले पुस्तिका च्यातेर हुर्याउने मन भए पनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहुर्याउने बताउनु भयो । अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरु बजेटप्रति असन्तुष्ट रहेको बताउनु भयो । उहाँले लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताउनु भयो ।