नेपालका प्रधानमन्त्रीले भारतमा किन भेट्दैनन् विपक्षी दलका नेता ?

विगत १० वर्षमा १० पटक भारत गए पनि सरकारसँग मात्र भेटवार्ता, कूटनीतिक कमजोरी छताछुल्ल
जेष्ठ २९, २०८१ |राजेश मिश्र
नेपालका प्रधानमन्त्रीले भारतमा किन भेट्दैनन् विपक्षी दलका नेता ?

नयाँदिल्ली । भारतमा सन् २०१४ पछि लगातार भारतीय जनता पार्टीका नरेन्द्र मोदी प्रधानमन्त्री रहँदै आउनुभएको छ । यो १० वर्षको अवधिमा हाम्रा चार प्रधानमन्त्रीले १० पटक भारतको भ्रमण गर्नुभयो । तर आश्चर्यको कुरा के छ भने चारजना प्रधानमन्त्री १० पटक भारत भ्रमणमा पुग्दा एकपटक पनि भारतमा विपक्षी दलका नेताहरुसँग भेटवार्ता गर्नुभएन ।

सधैं सत्तारुढ दलका नेताहरुसँग मात्रै प्रधानमन्त्रीले भेट गर्दा नेपालको कूटनीतिक कमजोरीलाई उजागर गरेको छ ।

सन् २०१४ देखि भारतमा नरेन्द्र मोदीको नेतृत्वमा सरकार चलिरहँदा नेपालबाट क्रमश: सुशील कोइराला, केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले प्रधानमन्त्रीका रुपमा १० पटक भ्रमण गर्नुभएको छ । यो अवधिमा भारतका कुनै विपक्षी नेतासँग उहाँहरुको भेट भएन । जबकि भारतीय नेताहरु नेपाल आउँदा सत्तारुढ र विपक्षी नेतासँग भेट गरेर सम्बन्ध सुमधुर राख्ने तर हाम्रा प्रधानमन्त्रीले विपक्षी नेता नै नभेट्ने कूटनीतिक कमजोरी भएको भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य बताउनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारतको दुईदिने पछिल्लो भ्रमणमा पनि राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरुलाई भेटे पनि विपक्षी दलका नेतालाई भेट्ने चासो देखाउनुभएन । जबकि प्रधानमन्त्री मोदीकै शपथमा सहभागी हुन पुग्नुभएकी बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले विपक्षी दल भारतीय कांग्रेस पार्टीका नेताहरु सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धीसँग भेट गर्नुभएको थियो । नेपालको तर्फबाट विपक्षी नेतालाई भेट्ने कुनै प्रयाससम्म गरेको देखिएन ।

यस्तो घटना पहिलोपटक भने भएको होइन । एक वर्षअघि औपचारिक भ्रमणमा आउँदा पनि प्रधानमन्त्री दाहालले विपक्षी दलका नेताहरुलाई भेट्न समय दिनुभएन । प्रधानमन्त्री हुनुपूर्व दुई वर्षअगाडि दाहाल माओवादी अध्यक्षका रूपमा भाजपाको निम्तोमा दिल्ली आउनुभएको थियो । त्यतिबेला उहाँले विदेशमन्त्री र अन्य सरकारी अधिकारीहरुलाई भेट्नुभएको थियो । तर विपक्षी दलका कुनै पनि नेतालाई भेट्नुभएन ।

त्यस्तै, अप्रिल २०२२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आएका बेला उहाँले पनि विपक्षी नेतालाई भेट्नुभएन । बरु कूटनीतिक सीमाभन्दा बाहिर पुगेर उहाँ दिल्ली भारतीय जनता पार्टीको कार्यालयमा पुग्नुभयो । केपी ओली प्रधानमन्त्री हुँदा पनि विपक्षी नेतासँग भेटघाट गर्नुभएको थिएन ।

त्यसो त केही वर्ष अघिसम्म भारत भ्रमणमा पुग्ने नेपालका प्रधानमन्त्रीले भारतका विपक्षी नेताहरुलाई भेट्ने परम्परा थियो । तर पछिल्लो समय यो परम्परा टुटेको छ । प्रधामन्त्रीको भ्रमण हुँदा विपक्षी नेता भेट गर्ने कार्यतालिका नै नराख्ने प्रणालीले हाम्रो कूटनीतिक कमजोरी उजागर गरेको छ ।


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement