सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, ५ जना विना विभागीयसहित ७ जना मन्त्री नियुक्त

जेष्ठ २८, २०८१ |टेकराज जोशी
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, ५ जना विना विभागीयसहित ७ जना मन्त्री नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले ५ जना विना विभागीयसहित ७ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री सोडारीले एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना र एकीकृत समाजवादीका एक जना गरी ७ जना मन्त्री नियुक्त गर्नुभएको हो । एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरीएको छ । त्यस्तै एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक, एकीकृत समाजवादीका माया पन्तलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको छ ।

मन्त्रालय टुक्र्याएर सबैलाई भागबन्डा पुर्‍याउने मुख्यमन्त्रीको तयारी छ । प्रदेश प्रमुख नजिर मियाले नवनियुक्त मन्त्रीहरुलाई आजै शपथ ग्रहण गराउनुभयो । सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सत्तारुढ सबै दलहरुसँग छलफल गरेर विभाग टुंग्याउने बताउनुभयो ।

यता माओवादी केन्द्रमा मन्त्री सिफारिसको विषयलाई लिएर विवाद उतपन्न भएको छ । पाँच जना प्रदेशसभा सदस्यहरुले संसदीय दलभित्र सल्लाह नगरी एकलौटी तरिकाले मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण बुझाएका थिए । प्रदेशसभा सदस्यहरु खगराज भट्ट, झपट साउद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् ।

माओवादीका सभामुखसहित ११ सांसद छन् । बैशाख ५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका सोडारीले एमालेले सरकारमा सहभागी हुन नमानेका कारण अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नु भएको थिएन । मन्त्रालयलगायत बजेट बाँडफाँडका विषयमा कुरा मिले पछि एमाले सरकारमा सहभागी भएको हो ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement