गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्र शाहीको प्रश्न-मुटु कमाएको हो ?

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्र शाहीको प्रश्न-मुटु कमाएको हो ?

काठमाडौं । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सत्ता पक्षमा हुँदा र विपक्षमा हुँदा गृहमन्त्री रविलामिछानेको बोली फेरिएको आरोप लगाउनुभएको छ । आइतबारको प्रतिनिधसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्रीले प्रतिपक्षमा हुँदा 'सरकारले प्रश्न उठेका मन्त्रीमाथि प्रश्न उठ्दा खुट्टा कमाउनुभएन' भनेको कुरा सम्झाउँदै उहाँले गृहमन्त्रीलाई डराएको हो भन्दै प्रश्न गर्नुभएको छ ।

 'गृहमन्त्रीको शब्द फिर्ता पठाउँदै भन्छु, मुटु कमाएको हो ?,' गृहमन्त्रीलाई उहाँले प्रश्न गर्नुभयो ।  प्रमुख सचेतक शाही संसदीय छानबिन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई आग्रह समेत गर्नुभयो ।

उहाँले छानबिन समिति बनाउने सन्दर्भमा गृहमन्त्रीले नेतृत्व गर्नुपर्ने बताउनु भयो । प्रमुख सचेतक शाहीले निर्दोष भएमा पुनः गृहमन्त्रीको रुपमा आउन सकिने पनि सुझाव पनि दिनुभयो । 'गृहमन्त्रीज्य छानबिन समिति बनाउन दिनुस्,' उहाँले भन्नुभयो, 'खुला गरिदिनुस् । दोषी भए कारबाही होला । निर्दोष भए तपाई फेरि यही संसद्‍मा गृहमन्त्रीको रुपमा अगाडि आउनुहोला । तपाईंलाई कसले रोक्न सक्छ ?'

उहाँले नयाँ दलहरु पुरानो दलको विकल्पको रुपमा आएका भन्दै सहकारी प्रकरणले नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ नरहेको समेत बताउनु भयो ।

'आज हामी नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ रहेन,' उहाँले भन्नुभयो, 'के फरक भयो ? हामी एकछिन इतिहास सम्झौँ त । के थियो हाम्रो पार्टी संगठन ? कुन ठाउँमा हामी थियौँ ?'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.