प्रतिपक्षीको आरोप- सत्ताको इसारामा सभामुख चल्नुभयो, सभामुखको बचाउमा सत्तारुढ दल

जेष्ठ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिपक्षीको आरोप- सत्ताको इसारामा सभामुख चल्नुभयो, सभामुखको बचाउमा सत्तारुढ दल

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसले अवरोध गरेको छ । कांग्रेसको अवरोधको कारण प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो । बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु आ-आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए भने सांसदहरुले बोल्न समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले बोल्नका लागि वातावरण बनाउन भन्दै बसेर सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

तर कांग्रेस सांसदहरु बस्न तयार नभएपछि सभामुखले कुनै कार्यसूची अगाडि नबढाइ बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो । बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसदहरुले सत्ताको इसारामा सभामुख चलेको आरोप लगाए । सांसद प्रदीप पौडेलले सभामुखले कांग्रेस सांसदहरुलाई बोल्न नदिएको भन्दै संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताउनुभयो । उहाँले सत्ताको इसारामा संसद् एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाउनुभयो ।

‘प्रतिपक्षले बोल्न पाउनुपर्‍योभन्दा सभामुखले बोल्न दिनुभएन । संसद् प्रतिपक्षको हुन्छ भन्ने आमसंसदीय मान्यतालाई आज नेपालको संसद्‌ले उल्लंघन गरेको छ । सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ । सभा सुरु हुनुअगाडि प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको स्थिति थियो । आज त्यो पनि बन्द गरिएको छ । त्यसबाट संसद एकलौटी ढंगबाट चलाउने, जबरजस्त गर्ने, सभामुख सम्पूर्ण रुपमा सत्ताको इसारामा चल्ने स्थिति बनेको छ,’ उहाँले भन्नुभयो, ‘त्यो ढंगबाट अगाडि जाने उहाँहरुको कोसिस देखिन्छ । संसद्‌ले हल निकाल्ने होइन सरकारबाट संसद्‌मा समस्या सिर्जना गर्ने, संसदलाई बन्दी बनाउने, संसदबाट प्रक्रियागत ढंगले होइन संसद्‌लाई नियन्त्रण गरेर जबरजस्ती अगाडि बढ्ने गरी कार्यदिशा तय गरिएको आजको सभामुखको भूमिकाबाट प्रस्ट हुन्छ ।’

यता, सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आफूहरुले बोल्न नपाएको दाबी गर्नुभयो । प्रमुख प्रतिपक्ष दलका सांसदहरु पालैपालो बोलिरहे पनि सत्ता पक्षका सांसदहरु भने बोल्न नपाएको उहाँको भनाइ छ । उहाँले कांग्रेस सांसदहरुले सभामुखप्रति धारे हात लगाएर नाराबाजी गर्ने गरेर अशिष्ट र अशोभनीय शैली अपनाएको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो संसद् खुल्नुपर्नेमा जोड दिनुभयो ।

‘यो संसद्‌मा प्रमुख प्रतिपक्षले जे कुरा राख्नुभयो, बोल्न पाउनुपर्छ भन्नेकुरा त्यही कुरा हामी सत्तापक्षले पनि भन्दै आएका छौं । प्रमुख प्रतिपक्षको कारणले गर्दा कोही पनि सांसदहरुले बोल्न पाएनन् । देशभरका समस्याहरु संसद्‌मार्फत सरकारलाई सुनाउने, सरकारलाई खबरदारी गर्ने सांसदको अधिकार हो । त्यो अधिकार दुई महिनादेखि कांग्रेसका माननीयज्यूहरुले अवरोध गरिरहनु भएको छ,’ उहाँले भन्नुभयो, ‘कांग्रेसका माननीयज्यूहरुले त बोलिरहनु भएको छ । पालो फेरि-फेरि सबैलाई पुर्‍याउनुभएको छ । बोलिरहनुभएको छ । हप्काउनुभएको छ । सबैथोक गरिरहनुभएको छ । आरोपित गर्नुभएको छ । तर हामीले पो बोल्न पाएका छैनौं । त्यसकारण हामी छिटोभन्दा छिटो यो हाउस खुलोस् । नीति, निर्माणको बाटो खुलोस् । सभामुखमाथि जसरी उहाँहरुले धारेहात लगाइरहनुभएको छ । सभामुखको अगाडि बसेर बेल घेराउका क्रममा सभामुखतर्फ औँला तेर्साएर तानाशाह मुर्दावादको जस्ता नारा पनि लगाइरहनुभएको छ । यो असाध्यै अशिष्ट, अशोभनीय तरिकाहरु हुन् । कांग्रेसले यो शैलीलाई बदल्नुपर्छ । अवरोध खुलाएर सहजतातर्फ लैजाने कुरा उसको पनि दायित्व हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेसले विगतमा आफू बोल्ने र संसद् अवरोध गर्ने गरेको भन्दै आजको बैठकमा बोल्ने भए सबैलाई बोल्ने वातावरण बनाउनेगरी बैठक अगाडि बढाउन खोज्नुभएको बताउनुभयो ।

उहाँले कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा कांग्रेस सांसदहरुलाई बोल्न नदिने नभनिएको स्पष्ट पार्नुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रमुख सचेतक परियारले सहकारी प्रकरणमा छानबिन समिति बनाउने विषयमा आईतवारसम्म सहमति जुट्ने बताउनुभयो ।

‘प्रतिपक्षले बोल्न दिएन भनेर आरोप लगाउन स्वभाविक भयो । बोल्न नदिएको अवस्थामा । तर विगत लामो समयदेखि सदन चल्ने, सदन बस्ने अनि विरोध गर्ने । विरोधका पछाडि प्रमुख प्रतिपक्षले अथवा कोही अमूक सांसदले केही कुरा राख्ने आफ्नो मुद्दा स्थापित गर्ने र सदन बन्द गर्ने हिँड्ने । यो खालको भएको थियो । सभामुखको आजको भनाइ के मात्र हो भने बोल्नलाई सबैजना बोल्ने । तर बोल्नका लागि तपाईंहरु वातावरण बनाउनुस् भन्ने हो,’ परियारले भन्नुभयो, ‘कुनै कार्यव्यवस्थामा सल्लाह भएर उहाँहरुलाई बोल्न नदिने भनिएको होइन । सभामुखज्यूलाई जे उचित लाग्यो त्यो गर्नुभयो । आइतबारसम्म सहमति जुट्ने र संसद् अगाडि बढ्नेछ ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसद्‌मा बारम्बार बोल्न दिइएको बताउनुभयो । उहाँले समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रयास गरिरहेको बताउनुभयो । समस्या समाधानका लागि कार्यदलले निचोड निकाल्ने उहाँको भनाइ छ ।

‘बारम्बार हामीले संसद्‌मा प्रतिपक्षलाई पनि बोल्न दिएका छौं । र समस्याको समाधान गर्न निरन्तर प्रयत्न भइरहेको छ । अहिले सदन चलिरहेको छ । अध्यादेशको कुरा कहाँबाट आयो र ? सरकारले आफ्नो नीति, कार्यक्रम प्रस्तुत गरिसक्यो । त्यसपछि यो समस्या जुन आइरहेको छ । यो समस्याको समाधान गर्ने गरेर कार्यदल बनेको छ । त्यो कार्यदलले एउटा निचोड निकाल्दै छ । त्यसैका लागि आज सबै विषयवस्तुलाई सकारात्मक ढंगले लैजाने गरेर हामी अगाडि बढेका छौं,’ उहाँले भन्नुभयो, ‘सहमति कहिले जुट्छ भन्ने कुरा जुटेपछि नै आउँला । अहिले नै आइरहेको छैन । जुटाउन सरकारका तर्फबाट प्रधानमन्त्रीले बारम्बार प्रयत्न गरिरहनुभएको छ ।’

त्यस्तै माओवादीका अर्का सांसद लेखनाथ दाहालले कांग्रेसको अवरोधका कारण महिनौदेखि संसद्‌मा बोल्न नपाएको बताउनुभयो । उहाँले कांग्रेस सांसदहरुले आफूहरुको मौलिक हकको अपहरण गरेको आरोप लगाउनुभयो ।

‘योभन्दा अगाडिको बैठकमा पनि प्रतिपक्षले बोलिसकेपछि फेरि संसद् अवरुद्ध गरेको कुरा पनि सत्य हो नि । उहाँहरुले बोलिसकेपछि सदन सञ्चालन हुने सुनिश्चितता भएपछि सभामुखले बोल्न दिनुहुन्छ । मुख्य कुरा अहिले संसद् अवरोधलाई निरुत्साहित गर्ने, संसद्‌लाई बहसको थलो बनाउनुपर्छ । आलोचना गर्न, मुद्दा उठाउन पाइन्छ । तर एउटै मुद्दाले संसद्‌लाई बन्धक बनाउने, उहाँहरु बोलिराख्ने,’ उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभाभित्र हामी पनि सांसद हौं । हाम्रो मौलिक हकको अपहरण उहाँहरुले महिनौंदेखि गर्नुभएको छ । त्योचाहिँ उहाँहरु स्वीकार्नुहुन्न । उहाँहरु मात्र सांसद हो त ? हामी पनि सांसद हो त । हामीले बोल्न नपाएको महिनौं भयो । उहाँहरुले त बोल्नुभएको थियो योभन्दा अगाडि । त्यसकारण नेपाली कांग्रेसले कुनै पनि हालतमा सदन अवरुद्ध गर्ने । बोलिसकेपछि पनि अवरुद्ध गर्ने । कार्यसूचीभित्र पस्न नदिएकै कारणले गर्दा सभामुखले बैठक स्थगित गर्नुभयो ।’

उहाँले कांग्रेस सांसदहरु आफू बोलेर संसद् अवरोध गर्ने गरेका भन्दै सोही कारण सभामुखले आजको बैठकमा कांग्रेसलाई बोल्न नदिएको जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.