प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेष्ठ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिषरिषद्को कार्यालयमा यसअघिनै सम्पत्ति विवरण उपलब्ध गराएको भए पनि सार्वजानिक भएको थिएन । प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै आलोचना बढेपछि मंगलबार सार्वजनिक गरिएको हो ।

सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसँग एउटा घर, १५ कठ्ठा जमिन, २५ लाख नगद र ५ तोला सुन रहेको उल्लेख छ । यस्तै उहाँसँग पैतृक सम्पत्तिका रुपमा ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । प्रधानमन्त्री दाहालकी पत्नी सीताको नाममा चितवनको भरतपुरमा एउटा घरसहित १५ कट्ठा जमिन पैतृत सम्पत्ति रहेको पनि विवरणमा उल्लेख छ ।

यसैगरी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको बैंक खातामा एक लाख २२ हजार नौ सय १८ रुपैयाँ ६४ पैसा देखिएको छ । उहाँले आफ्नो पैतृक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गर्नुभएको छ । उहाँले सार्वजनिक गर्नुभएको विवरणमा गोरखामा ३७ रोपनी ३२ आना जमिन छ ।

यसैगरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा पाँच हजार रुपैयाँ छ । उहाँको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ । पत्नी निकिता पौडेलसँग भने तीन करोड ७५ लाख रुपैयाँमा बूढानीलकण्ठमा पाँच आनामा बनेको घर, घर किन्दाको १ करोड ५० लाख ऋण तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उहाँसँग ८० तोला सुन, २० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको २५ प्रतिशत सेयर, ४२ लाख रुपैयाँबराबरको कार र नारी टेलिभिजनको हालको मूल्य तीन करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य एक करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले बुझाउनुभएको सम्पत्ति विवरणमा अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा देखिएको छ । महतोको नाममा मात्रै जनकपुरमा चार हजार दुई सय वर्गमिटर जग्गामा घर, ललितपुरमा दुई रोपनी १३ आना जग्गा र घर, धनुषामा सात बिघा, ललितपुरमै १ रोपनी ७ आना जग्गा छ ।

यता महासेठको नाममा भने धनुषामा एक बिघा जग्गा देखिन्छ । विवरणमा दुई करोड २५ लाख रुपैयाँबराबर नगद, ४३ तोला सुन, डेढ किलो चाँदी उल्लेख छ । त्यसबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको तीन करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै अर्थमन्त्री वर्षमान पुनसँग बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ । उहाँको रोल्पामा ८२० वर्गमिटर जग्गा पैतृक सम्पत्ति छ । त्यसबाहेक एक थान हलुका सवारीसाधन रहेको विवरण उल्लेख छ ।

श्रम, रोजगार तथा सुरक्षा मन्त्री डीपी अर्यालले आफ्नो सम्पत्ति विवरणमा १२ स्थानमा रहेको जग्गा, काठमाडौंमा घर, सुन, बैंक खातामा रहेको नगद देखाउनुभएको छ । अर्यालसँग धादिङ, काठमाडौं, लमजुङ र भक्तपुर जग्गा छ । १२ ठाउँमा रहेको जग्गाको मूल्य ५ करोड २८ लाख रुपैयाँ बराबरको रहेको अर्यालले सम्पत्ति विवरणमा उल्लेख छ । अर्यालसँग सुन १५० तोला, चाँदी १०० तोला र हीरा १० तोला छ । अर्यालले श्रीमती अम्बिका केसीसमेतको नाममा दुई करोड १८ लाख रुपैयाँ बैंकमा मौज्दात देखाउनुभएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसँग तीनवटा घर छन् । मन्त्री जोशीसँग चार तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग भने बैंकमा सात लाख ५० हजार रुपैयाँ मौज्दात छ । त्यस्तै चल सम्पत्तिमा १३ लाख नगद पनि छ । उहाँसँग १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा र ६ तोला सुन र ८ तोला चाँदी रहेको विवरणमा खुलाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपैयाँ रहेको पाइएको छ । श्रीमान् सहितको खातामा भएको रकमसमेत जोड्दा भने साढे ४ करोड रुपैयाँ देखिएको छ । शिक्षामन्त्री श्रेष्ठसँग काभ्रेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहसँगको अधिकांश सम्पत्ति श्रीमानको नाममा भएको देखिन्छ । जितपुर सिमरामा ५० कठ्ठा जग्गासहित सुन १० तोला, चाँदी २५ तोला रहेको उल्लेख छ ।

यो पनि...

प्रधानमन्त्रीको सम्पत्ति : एउटा घर, १५ कठ्ठा जमिन, २५ लाख नगद र ५ तोला सुन

परराष्ट्रमन्त्री नारायणकाजीको सम्पत्ति १ लाख २२ हजार मात्रै

गृहमन्त्री लामिछानेको सम्पत्ति : १ रोपनी १ आना जमिन र १ लाख ५ हजार नगद, बाँकी पत्नीका नाममा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.