भएकै विश्वविद्यालयले पाएनन् विद्यार्थी, नयाँ थप्ने सरकारको हतारो

थप तीन विधेयक संसद्‌मा, २ वर्षअघि नै स्थापित योगमाया विश्वविद्यालय अझै अलपत्र
असार ११, २०८१ |नारायण किलम्बू
भएकै विश्वविद्यालयले पाएनन् विद्यार्थी, नयाँ थप्ने सरकारको हतारो

काठमाडौं । नेपालमा अहिले त्रिभुवन विश्वविद्यालयसहित संघीय स्तरका १३ वटा, प्रदेशस्तरका ७ र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु ७ गरी २७ वटा विश्वविद्यालय छन् ।

त्रिविबाहेक अधिकांश विश्वविद्यालयले विद्यार्थी अभावको साझा समस्या बेहोरिरहेका छन् भने जनशक्ति तथा गुणस्तर अभाव तथा अव्यवस्था जताततै छ । तर, सरकार भने अझै विश्वविद्यालय थप्ने होडबाजीमा छ । सरकारले पछिल्लोपटक तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा पेस गरेको छ ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र नेपाल विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभा पुगेको छ । नेपाललाई अहिले गुणस्तरीय र जीवनोपयोगी उच्च शिक्षा चाहिएको हो कि ? विश्वविद्यालयको संख्या ? अहिले प्रश्न टड्कारो बनेको छ ।

चिकित्सा शिक्षातर्फ आँखा स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सरकारले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक संघीय संसदको राष्ट्रिय सभामा पेस गरेको छ । २०४९ सालदेखि नै आँखा स्वास्थ्यका लागि मुनाफारहित संस्थाको रुपमा स्थापित तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकास गर्न विधेयक ल्याइएको हो ।

प्रतिष्ठानले हाल नेपालका २० जिल्लामा आँखा उपचार कार्यक्रम सञ्चालन गर्दै आएको छ । आँखा स्वास्थ्यको क्षेत्रमा नयाँ प्रविधिको विकास तथा विस्तार गरी उत्कृष्ट प्राज्ञिक केन्द्रका रुपमा विश्वविद्यालय स्थापना गर्ने उद्देश्य विधेयकमा राखिएको छ ।

चिकित्सा शिक्षाकै लागि कैलालीको गेटामा स्थापना गरिने सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको छ । यो विधेयक अहिले प्रतिनिधिसभामा पुगेको छ । अर्को नेपाल विश्वविद्यालय विधेयक पनि राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभाको शिक्षा समितिमा दफावार छलफलमा छ । यी तीन विश्वविद्यालय थपिँदा संघीयस्तरका विश्वविद्यालयको संख्या १६ पुग्नेछ ।

त्यसमाथि प्रदेशस्तरका सातवटा र ७ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । तर, स्थापना गरिएकै विश्वविद्यालय सञ्चालनमा आउन सकेका छैनन् । २ वर्षअघि प्रतिनिधिसभाबाट पारित भएको योगमाया आयुर्वेद विश्वविद्यालय अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । यसरी एकपछि अर्को विश्वविद्यालय थपिँदै जाँदा भविष्यमा सञ्चालनमै मुस्किल पर्ने विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक देवराज अधिकारीको बुझाइ छ ।

सञ्चालनमा रहेकामध्ये त्रिविबाहेक अन्य विश्वविद्यालयको अवस्था दयनीय छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा २७ जना तथा राजर्षि जनकमा करिब सात सय विद्यार्थी छन् । त्रिविमै पनि विद्यार्थी अभावमा कतिपय क्याम्पस बन्द भइसकेका र बन्द हुने स्थितिमा छन् ।

धेरै विद्यार्थी विदेशिँदा विद्यार्थी अभाव हुनु, गुणस्तरको प्रश्न पटक-पटक उठ्नु र उच्च शिक्षा हासिल गरेपछि पनि जीवनोपयोगी नभएको जस्ता विषयमा बहस भइरहेका बेला नयाँ विश्वविद्यालयले उच्च शिक्षामा कति योगदान दिन सक्लान्, सोचनीय छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement