ज्ञानेन्द्र शाही प्रधानमन्त्री बनेको हेर्ने प्रचण्डको चाहना !

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
ज्ञानेन्द्र शाही प्रधानमन्त्री बनेको हेर्ने प्रचण्डको चाहना !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपाका सांसद ज्ञानेन्द्र शाही प्रधानमन्त्री बनेको दिन के-के गर्नुहुन्छ आफूले हेर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा प्रधानमन्त्री दाहालले राप्रपाका नेता शाहीले सोधेको प्रश्नको जवाफ दिने क्रममा उहाँ प्रधानमन्त्री भएका दिन आफूले पनि हेर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहाल नारायणकाजी श्रेष्ठले सम्हालिरहेको परराष्ट्र मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका बेला राप्रपाका प्रमुख सचेतकसमेत रहेका सांसद शाहीले विभिन्न प्रश्न गर्नुभएको थियो । उहाँले नेपालमा प्रधानमन्त्री छ कि छैन ? रुसी सेनामा भर्ना भएका नागरिक ल्याउन सरकारले के पहल गरिरहेको छ ? भन्दै प्रश्न गर्नुभएको थियो ।

जवाफका लागि रोस्ट्रममा पुग्नुभएका प्रधानमन्त्री दाहालले शाहीको प्रश्नको जवाफ व्यक्तिगत रुपमै दिनुभयो । ‘कसैले राख्नुभयो, नेपालमा प्रधानमन्त्री छ कि छैन ? रुसी सेनामा भएका नागरिक छ कि छैन ? भनेर राख्नुभयो ? यहीँ हुनुहुन्छ कि जानुभयो ?,’ उहाँले अगाडि भन्नुभयो, ‘नेपालमा प्रधानमन्त्री छ । त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ ।’

उहाँले यस्तो भनिरहँदा विपक्षी बेञ्चमा बसेका शाही हाँसेर बस्नुभएको थियो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘त्यसकारण सरकारले पठाएर रुसी सेनामा गएका त होइनन् । तर जे भए पनि रुसी सेनामा नेपाली जानु दुःखद् हो । म जोडका साथ भन्न चाहन्छु, राति १२ बजे रुसी सेनाको मोर्चामा लडाईं लड्दै गरेकासँग फोनमा कुरा गर्ने गरेको छु ।’

शाहीलाई प्रधानमन्त्री दाहालले कुनै दिन प्रधानमन्त्री बनेको खण्डमा आफूले हेरेर बस्ने समेत बताउनुभयो । ‘त्यस्तो, प्रधानमन्त्री तपाईं कुनै दिन हुनुहुन्छ भने म तपाईंले कति गर्नुहुन्छ हेर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement