धनराज गुरुङको घोषणा- मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु

वडाध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्छ : गुरुङ
असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
धनराज गुरुङको घोषणा- मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट संन्यास लिने बताउनुभएको छ ।

काठमाडौंमा मंगलबार आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उहाँले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरु कम हुने धारणा राख्नुभयो । उहाँले भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर कांग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले वडाध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभयो । कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

‘हामीले देश चलाउँदै गर्दा कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउने हो । हिजोका दिनमा कसले केके गरे बिर्सिदिनुस् । तर भोलिको दिनलाई कसैलाई पनि छुट हुँदैन, आगामी दिनमा कांग्रेस हुँ भन्ने मान्छेहरुले कहीँ, कतै कसैले अर्को पार्टीबाट औंला ठड्यायो भने त्यसलाई कुनै पनि हालतमा कांग्रेसभित्र ठाउँ दिनु हुँदैन । त्यो प्रण गरेर हामी अघि बढ्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर न कांग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ । सिधा कुरा भन्छु म । धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदि लिएर आउँछ भने म राजनीतिबाट संन्यास लिन तयार छु । यही कुरा हरेक नेताले भन्नसक्ने कि नसक्ने आजका दिनमा ? वडाध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्छ ।’

उपसभापति गुरुङले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको बताउनुभयो । उहाँले पदका लागि मात्रै सहअस्तित्व स्वीकार्ने र समन्वय गर्ने काम हुनु नहुने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement