गगन थापाको टिप्पणी- म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ

‘०८४ मा कम्तिमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माणमा लाग्नुपर्छ’
असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
गगन थापाको टिप्पणी- म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा मंगलबार आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न नेता/कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टी-वन्टी, जो-जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौं । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔं । तलैबाट पार्टीको एकता पनि गरौं,’ उहाँले भन्नुभयो, ‘धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तिमा पनि सय सिट जित्ने गरीकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौं भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यी कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि कांग्रेसले राख्छ । त्यस्तो तागत भएको पार्टी कांग्रेसलाई बनाउनुपर्छ ।’

उहाँले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले म जादुगर हो भनेजसरी यताउति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडिदिन आग्रह पनि गर्नुभयो ।

‘यता मिल्ने, उता मिल्ने, ऊसँग मिल्ने कुरा छोडिदिऔं । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔं । यो उहाँहरुकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ,’ महामन्त्री थापाले भन्नुभयो ।

कांग्रेसले ०८४ मा कम्तिमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माणमा लाग्नुपर्ने भन्दै उहाँले नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement