काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठक अवरोधविरुद्ध प्रतिवाद गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिनुभएको छ । संसद भवन नयाँ बानेश्वरस्थितमा आज बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले भोलिदेखि सदन नियमित चल्ने भन्दै कांग्रेसले विरोध गरे प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
उहाँले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । नेपाली कांग्रेसले गिरीबन्धु टी–स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको र कमिसनमा बेच्न दिएको आरोप पनि लगाउनुभयो । अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ बिगाहा र ५१ बिगाहा टी-स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग समेत गर्नुभयो ।
कांग्रेसले भने सरकारमा रहँदा ओलीले टी–स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइरहेको छ । अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै हालतमा छानविन समिति नबन्ने अडान दोहोर्याउनुभयो । उहाँले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिनुभयो ।
कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली आफूहरुलाइ थाहा भएको ओलीको दाबी छ । एमाले संसदीय दलको बैठकमा सांसद नै नभएका पार्टी महासचिव शंकर पोखरेल र पूर्वअर्थमन्त्री युवराज खतिवडालाई पनि निम्त्याइएको थियो ।