भारतीय कडाइले संकटमा नेपाली चिया, बन्द हुने जोखिममा उद्योग

जेष्ठ ३१, २०८३ |विप्लव भट्टराई
भारतीय कडाइले संकटमा नेपाली चिया, बन्द हुने जोखिममा उद्योग

इलाम । नेपाली चिया निर्यातमा भारतको कडाइले समस्या भएको छ । 

गुणस्तर परीक्षणका नाममा भारतले सहज ढंगले निर्यात हुन नदिएपछि चिया कारखाना नै बन्द गर्नुको विकल्प नरहेको व्यवसायी र सरोकारवाला बताउँछन् ।

व्यवसायीहरुको बुझाइमा अहिले तयारी भारतीय बजारमा पठाउन अघोषित नाकाबन्दी नै गरिएको हो। अघिल्लो महिना चिया निर्यात रोकिएपछि भएको पहलले भारततर्फ चिया पठाउन अवरोध नहुने समाचार आए पनि वास्तविकता त्यस्तो भएन। अहिले भारतको टी वोर्डले लिएको नीति कायम रहने हो भने नेपाली चियालाई भारतको बजार बन्द हुने र यहाँका अधिकांश कारखाना बन्द हुने अवस्था रहेको व्यवसायीको भनाइ छ।

व्यवसायीहरुका अनुसार काेलकाता र सिलिगुडीका गोदाममा करिब ४ लाख किलो र कारखानाहरुमा नै २ लाख किलो हाराहारी चिया थन्किएको छ । ६० वटा इन्डिकेटर राखेर चिया परीक्षण गर्दै नेपाली चियालाई गुणस्तरीय नभएको साबित गर्न खोजिएको आरोप व्यवसायीको छ । 

यहि अवस्था रहे कारखाना नै बन्द गर्नु पर्ने विकल्पमा व्यवसायी पुगेपछि सरोकारवाला निकायको ध्यान पनि तानिएको छ । नेपाली चियाको सबैभन्दा ठूलो बजार भारतमा यसअघि पनि विभिन्न झमेला सिर्जना नभएका होइनन् । तर, यो पटक भने भारतले नियतवस नै नेपाली चियामा आंकुश लाउन खोजेकोले चिया क्षेत्रमा दीर्घकालीन संकट आउन सक्ने आशंका सरोकारवालाको छ । 

अथोडक्स र सीटीसी गरी नेपालमा २ करोड ६१ लाख किलो तयारी चिया उत्पादन हुने गरेको छ । चालु आर्थिक वर्षमा १ करोड ५६ लाख किलो चिया निर्यात भई ४ अर्ब ५९ करोड रुपैयाँ वदेशी मुद्रा आर्जन भएको छ । नेपालमा १५ हजार १ सय ३२ चिया कृषक, १ सय ७० वटा टी स्टेट र साना मझौला ठूला गरी १ सय २० वटा चिया प्रशोधन उद्योगमार्फत ६० हजार जनाले रोजगारी पाएका छन् । 

नेपालमा उत्पादित चिया ठूलो मात्रामा भारत निकासी हुन्छ भने पश्चिमा देशसहित आन्तरिक बजारमा पनि खपत हुन्छ । वैदेशिक मुद्रा आर्जनसहित रोजगारी सिर्जनामा यति धेरै योगदान गरेको चिया क्षेत्रको दीर्घकालीन संकट हटाउन सरकार गम्भीर बन्नु पर्ने देखिन्छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।