काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणमा आइतबार बिहान पाँचपटकको च्याम्पियन ब्राजिल र अफ्रिकन शक्तिशाली टोली मोरक्को आमनेसामने हुँदैछन् ।
अघिल्ला दुई संस्करणमा क्वार्टरफाइनलमै रोकिएको ब्राजिल यसपटक पुराना कमजोरी सुधार्दै उपाधि यात्रालाई बलियो बनाउन चाहन्छ । उता कतार विश्वकपमा सेमिफाइनल पुगेको मोरक्को फेरि त्यस्तै चमत्कार दोहोर्याउँदै ‘डार्क हर्स’को रूपमा आफूलाई प्रमाणित गर्न खोज्दैछ ।
दुवै टोलीबीचको यो भिडन्त अनुभव र उदीयमान शक्तिको टकरावका रूपमा हेरिएको छ । जहाँ नेयमारको अनुपस्थिति ब्राजिलका लागि चुनौती बन्नेछ भने हकिमी र ब्राहिम डियाज मोरक्कोका मुख्य आशा हुनेछन् ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले २०२६ फिफा विश्वकपको समूह ‘सी’ अन्तर्गत आफ्नो पहिलो खेल अफ्रिकी शक्ति मोरक्कोविरुद्ध खेल्दैछ । अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल आइतबार बिहान पाैने ४ बजे सुरु हुने छ ।
यो खेललाई समूह चरणकै सबैभन्दा महत्वपूर्ण र रोमाञ्चक भिडन्तमध्ये एक मानिएको छ । किनकि यसमा विश्व फुटबलको सबैभन्दा सफल टोली ब्राजिल र पछिल्लो विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको मोरक्को आमनेसामने हुँदैछन् ।
ब्राजिलले सन् २०२५ मा पहिलो पटक विदेशी प्रशिक्षकका रूपमा कार्लो एन्सेलोटीलाई नियुक्त गरेपछि टोली नयाँ युगमा प्रवेश गरेको छ । एन्सेलोटीले क्लब फुटबलमा रियल मड्रिड, एसी मिलान र चेल्सी जस्ता विश्वस्तरीय क्लबलाई सफलता दिलाइसकेका छन् । अब उनी ब्राजिललाई विश्वकप उपाधि जिताउने लक्ष्यसहित राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका छन् ।
ब्राजिल विश्वकप इतिहासकै सबैभन्दा सफल टोली हो । उसले हालसम्म पाँच पटक विश्वकप जितेको छ । ब्राजिलले ११४ खेल खेल्दै ७४ जित हासिल गरेको छ, जुन विश्वकप इतिहासकै सर्वाधिक हो । साथै, ब्राजिल हरेक संस्करणमा सहभागी हुने एक मात्र राष्ट्र पनि हो ।
तर, पछिल्ला वर्षमा टोलीले आफ्नो पुरानो प्रभुत्व कायम राख्न सकेको छैन । सन् २००२ पछि ब्राजिलले विश्वकप उपाधि जित्न सकेको छैन, र कतार विश्वकप २०२२ मा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । दक्षिण अमेरिकी छनोट चरणमा ब्राजिलको प्रदर्शन मिश्रित रह्यो ।
टोलीले १८ खेलमा ८ जित, ४ बराबरी र ६ हार बेहोर्दै पाँचौँ स्थानमा रहँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो । ब्राजिलले जापानसँग ३–२ र फ्रान्ससँग २–१ को हार बेहोरेको थियो । तर, त्यसपछि टोलीले क्रोएसिया, पानामा र इजिप्टविरुद्ध लगातार तीन जित हासिल गर्दै राम्रो पुनरागमन गरेको छ ।
मोरक्को पछिल्लो समय विश्व फुटबलको सबैभन्दा स्थिर र प्रभावशाली टोलीमध्ये एक बनेको छ । सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरक्को अहिले फेरि ठूलो चुनौती दिने तयारीमा छ । फिफा वरियतामा सातौँ स्थानमा रहेको मोरक्कोले सन् २०२३ यता खेलेका ४५ खेलमध्ये ३३ खेल जितेको छ ।
त्यस अवधिमा टोलीले केवल २ खेल मात्र हारेको छ । जुन यसको स्थिर प्रदर्शनको प्रमाण हो । मोरक्कोले विश्वकप छनोट चरणमा सबै खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । टोलीले आठ खेलमा आठै जित निकालेर विश्वकपमा स्थान बनाएको हो।
विश्वकप अघि मोरक्कोमा ठूलो परिवर्तन भएको छ । पूर्व प्रशिक्षक वालिद रग्रागुईले विश्वकप सुरु हुनुअघि राजीनामा दिएपछि टोलीको जिम्मेवारी मोहम्मद ओवाह्बीले सम्हालेका छन् ।
ब्राजिलका स्टार खेलाडी नेयमार चोटका कारण यस खेलमा उपलब्ध हुने छैनन् । ब्राजिलको आक्रमणमा भिनिसियस जुनियर र राफिन्हा प्रमुख खेलाडी हुनेछन् । मोरक्कोका कप्तान अचराफ हाकिमी पूर्ण रूपमा फिट रहेका छन् र टोलीको नेतृत्व गर्नेछन् । ब्राहिम डियाज पनि सानदार लयमा छन् ।
समूह ‘सी’ को सुरुआती खेलमै विश्व फुटबलका दुई शक्तिशाली टोली आमनेसामने हुँदा खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । ब्राजिल आफ्नो पुरानो गौरव फर्काउने लक्ष्यमा छ भने मोरक्को फेरि एकपटक ऐतिहासिक उपलब्धि दोहोर्याउने योजनामा, तपाइले यस खेलमा कस्तो नतिजा अपेक्षा गर्नु भएको छ ।