एमाले संसदीय दलको बैठक जारी

जेष्ठ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा बसिरहेको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबेर अघि सुरु भएको हो । यसअघिका एमाले संसदीय दलको बैठकमा पत्रकारलाई फोटो/भिडियो खिच्न दिने गरेको भएता पनि आजको बैठकमा भिडियो खिच्न दिइएको छैन ।

सरकारको नीति तथा कार्यक्रमलगायत विपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै संसद् अवरोध भइरहेको विषयमा छलफल केन्द्रित हुने एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ । एमालेले लामिछाने केन्द्रित समिति गठन गर्न नसकिने अडान राख्दै आएको छ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछाने संलग्न भएको भन्दै समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । हिजो संसदमा राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको कांग्रेसले राष्ट्रपति पौडेललाई धन्यवाद दिने संसदको दोस्रो बैठक भने अवरोध गरेका थिए ।

विपक्षी दल कांग्रेस लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने पक्षमा छ । सभामुख देवराज घिमिरेको पहलमा यसअघि सहमति खोज्न बसेको दलहरुबीचको बैठक विना निष्कर्ष टुंगिदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.