बागमती मन्त्रिपरिषद्का निर्णय : प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस, प्रदेश भरी तामाङ भाषा र नेपाल भाषा प्रयोगमा ल्याउने

वैशाख १२, २०८१ |सुजन पुडासैनी
बागमती मन्त्रिपरिषद्का निर्णय : प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस, प्रदेश भरी तामाङ भाषा र नेपाल भाषा प्रयोगमा ल्याउने

हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको  छ । 

बुधबार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै मन्त्रिपरिषद् बैठकले वैशाख २४ गतेदेखि बागमती प्रदेश भरी तामाङ भाषा र नेपाल भाषा प्रयोगमा ल्याउने निर्णय गरेको छ । उक्त अवसरमा वैशाख २४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उक्त दिन प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमकाबीच वसन्तपुरबाट भाषा कार्यान्वयनको शुभारम्भ गर्नुहुनेछ । 

बागमती प्रदेशका सम्पूर्ण कार्यालयहरूका साइनबोर्ड, लेटरहेडमा नेपाली, तामाङ र नेपाल भाषाको प्रयोग गरिने छ । बागमती प्रदेशमा सरकारी तथा सामुदायिक भवन वा कुनै किसिमको भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएको काठ अनिवार्य प्रयोग गर्नुपर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।


Image

सुजन पुडासैनी

पुडासैनी मकवानपुरस्थित कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।