गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गते बस्ने

पहिलो दिन नै विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी
वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गते बस्ने

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख भट्टले मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा वैशाख ७ गते दिउँसो ३ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।

अधिवेशन आह्वान भएसँगै पहिलो दिन नै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासका मत लिने तयारी गरेका छन् । चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गण्डकी सरकार गठन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ ।

नेपाली कांग्रेसले चैत २७ गते दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ । अब यो रिटमाथीको सुनुवाइ गर्न वैशाख १० गतेको पेसी तोकिएको छ । तर मुख्यमन्त्री अधिकारीले त्यसअघि नै विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीको दाबी पेस गर्दा अधिकारीले एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङसमेत गरी ३१ प्रदेशसभा सदस्यको समर्थन रहेको पत्र प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । तर नेपाली कांग्रेसले सभामुखको समेत संख्या गणना गरेर अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्नु असंवैधानिक हुने भन्दै अदालत पुगेको हो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार गठन गर्न ३१ जना प्रदेशसभाको समर्थन चाहिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement