मधेश प्रदेश : सरोजकुमार यादवलाई चौथोपटक विश्वासको मत

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेश : सरोजकुमार यादवलाई चौथोपटक विश्वासको मत

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको बहिष्कारका बीच आज (मंगलबार) प्रदेशसभा बैठकमा विश्वासको मत पाएका हुन् ।

एक सय सात प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्नेमा मुख्यमन्त्री यादवले ६१ मत पाएका छन् । सुरुमा सबै दलको उपस्थिति रहे पनि कांग्रेस, जनमत र लोसपाले बैठक बहिष्कार गरी बाहिरिएपछि बैठक कक्षमा जम्मा ६१ सांसद मात्र उपस्थित थिए ।

उपस्थित सबै सांसदले यादवलाई मत दिएका थिए भने प्रतिपक्षी दलले बहिष्कार गरेका कारण प्रस्तावको विपक्षमा कुनै मत परेन । सत्ता गठबन्धनमा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी जसपाका साथै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवाली रहेका छन् ।

गठबन्धनबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी भने आजै सरकारबाट बाहिरिएको हो । सो पार्टीबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले आजै राजीनामा दिएका हुन् । नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिनु परेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement