काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएर न्यायालयलाई सघाउनुपर्ने विपक्षी नेपाली कांग्रेसले माग गरेको छ । उता सत्ता गठबन्धनका सबभन्दा ठूलो दल नेकपा एमालेले भने लामिछानेले आफूमाथि लागेको आरोपबारे संसद्मा धारणा राख्न पाउनुपर्ने र त्यसपछि मात्र के गर्ने भन्ने विषयमाअघि बढ्न सकिने धारणा अघि सारेका छन् ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको मुद्दा अदालतमा दर्ता भइसकेकाले अब पदबाट राजीनामा दिएर सघाउनुपर्ने कांग्रेसले माग गरेको छ । कांग्रेस नेता पुष्पा भुसालले सहकारी ठगी प्रकरणमा संलग्नता नै देखिएपछि पदमा बस्न नहुने र अदालती प्रक्रियालाई लामिछानेले सघाउनुपर्ने बताइन् ।
सत्ता गठबन्धन एमालेले भने संसद्मा गृहमन्त्री लामिछानेले आफूविरुद्धको मुद्दामा बोल्न खोजिरहेकाले पहिले सम्बोधन गर्न दिनुपर्ने जनाएको छ । त्यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न सकिने एमाले प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ ।
माओवादी केन्द्रसँगको सत्तागठबन्धन भत्किएसँगै कांग्रेसले प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मतलिने दिनदेखिनै लामिछानेको मुद्दालाई संसद्बाट उठाउँदै आएको छ । प्रमुख विपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समितिको माग राख्दै सदनमा विरोध गर्दै आएको छ । सत्ता गठबन्धन दल एमाले र माओवादी केन्द्र त्यसको विपक्षमा उभिएको छ । अवरोधकै बीच सरकारले विधेयक अधिवेशन अन्त्य गरिसकेको छ ।