विक्रम सम्वत् २०८० को आज अन्तिम दिन । भोलिदेखि नयाँ वर्ष लाग्दै गर्दा हामी एउटा अर्को नयाँ दशकमा पनि टेक्दै छौं । विक्रम सम्वत् २०७० देखि ८० सालसम्मको दशकमा नेपाली राजनीति अस्थिरताको भूमरीमै रुमलियो । पछिल्लो एक दशकमा नेपालीले अनेक उतार चढावको सामना गर्नुपर्यो ।
नयाँ राजनीतिक परिवर्तन पछि सुरु भएको यो दशकको नयाँ वर्षमा राजनीति अलमल मै थियो । नयाँ राजनीतिक परिवर्तनपछि नयाँ व्यवहार र शासन शैलीको सट्टा सत्ता सञ्चालनमा बस्नेहरुको व्यवहारका कारण पुरानै समस्या भ्रष्टाचार, अनियमितता, बेथितिको सामना मुलुकले गर्नुपर्यो । देशको राजनीतिमा आएको उथलपुथल संग्लिन नपाउँदै ठुल्ठुला प्राकृतिक विपद्को तथा महामारीको समेत सामना गर्नुपर्यो । तर पनि यो दशकमा सामाजिक क्षेत्रमा केही सकारात्मक परिवर्तन भए ।
राजनीतिक उथलपुथल यो दशकले अघिल्लो दशकको विरासतका रुपमा पाएको थियो । तर राजनीतिक परिवर्तन संस्थागत हुनुको साटो दशकको सुरुमा चरम निराशामा थियो । राजनीतिक अस्थिरताबाट सुरु भएको दशक अस्थिरतामै अन्त्य भइरहेको छ । कस्तो व्यवस्था बनाउने भनेर सकारात्मक बहसबाट सुरु भएको दशक अहिलेको व्यवस्था भएन भन्ने बहसमा अन्त्य भइरहेको छ । यसैगरी प्राकृतिक विपत्ति र मानवताकै लागि चुनौतीका रुपमा संसारभर फैलिएको महामारीको सामनासमेत हामीले यही दशकमा गर्यौं ।
पहिलो संविधानसभाको विघट्न भई सरकारको नेतृत्व राजनीतिक दलको हातबाट फुस्किएको अवस्थामा दशकको सुरुवात नै अस्थिरता र अन्योलका बीच सुरु भयो । प्रधानन्यायाधीश खिलराज रेग्मी अध्यक्षताको मन्त्रीपरिषद्ले २०७० सालको मंसिर ४ मा संविधानसभाको दोस्रो चुनाव गराएपछि राजनीति लयमा त फर्कियो तर संविधान जारी हुन २ वर्ष कुर्नुपर्यो । त्यही संविधान पनि राजनीतिक दलहरुको सकारात्मक कार्यभन्दा २०७२ वैशाख १२ आएको विनाशकारी भूकम्पले निम्त्याएको बाध्यताको उपज थियो ।
वैशाख १२ गतेको भूकम्प देशले सामना गरेको शताब्दीकै ठूलो भूकम्प थियो । जसमा ९ हजारभन्दा बढीले ज्यान गुमाए भने लाखौं संरचना ध्वस्त भए । ७.६ म्याग्नेच्युडको महाभूकम्पले देश थिलथिलो भएका बखत राजनीतिक अन्योल कायमै थियो । निर्वाचन प्रणाली, शासकीय स्वरुपलगायत विषयमा दलहरु फरक कित्तामा उभिँदा संविधान निर्माण नै अन्योलमा परेको थियो । तर भूकम्पको सामना गर्न एकत्रित दलहरु यी विषयमा पनि एक ठाउँमा आएपछि ०७२ असोज ३ मा संविधान जारी भयो । यो यस दशककै अपूर्व घटना थियो जसले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अघि बढायो ।
तर नेपालीको सकस भने सकिएन । त्यही संविधानप्रति असहमति जनाउँदै छिमेकी भारतले नाकाबन्दी लगायो । नाकाबन्दीको प्रहारसँग जुधेर नेपाल पहिलोपटक २०७४ सालमा संघ, सात प्रदेशसहित ७५३ वटै स्थानीय तहमा निर्वाचन सम्पन्न गर्न सफल भयो । स्थानीय तहदेखि सातै प्रदेशले आफ्नै सरकार पाए । संघीयता कार्यान्वयनको त्यो पहिलो खुड्किलो थियो ।
तर व्यवस्थालाई सबल पार्नुपर्ने दलहरुले उल्टै व्यवस्थामाथि नै प्रहार गर्ने क्रम पनि यो दशकमा बारम्बार दोहोरियो । चुनावअघि कार्यगत एकता हुँदै २०७४ को संसदीय चुनावपछि पार्टी एकता गरेका नेकपा एमाले र माओवादी केन्द्र मिलेर १५ सालको बीपी कोइराला सरकारयताकै शक्तिशाली सरकार पनि बनाए । तर आफ्नै शक्तिको भारले यो एकता धेरै समय टिकेन । विवाद चुलियो, विवादकै बीच २०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाअनुसार पार्टी फेरि टुक्रियो ।
प्रधानमन्त्री रहेका केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गरे जसलाई सर्वोच्च अदालतले असंवैधिनक ठहर गरिदियो । नेपाली जनताले आफ्नै शक्तिमा बनाएको यो बलियो सरकार तत्कालीन नेकपाकै नेताहरुका कारण धुजाधुजा भएपछि सुरु भएको अस्थिरता र चरम निराशा अहिलेसम्म रोकिएको छैन ।
राजनीतिक अस्थिरता, विवाद र खिचातानी छँदै थिए, त्यसमाथि केही वर्ष कोभिडको महामारीले मुलुकलाई झनै पछाडि धकेलिदियो । २०७६ माघ १० गते पहिलोपटक नेपालमा भेटिएको कोभिडको संक्रमणले हालसम्म १२ हजारभन्दा बढी नेपालीको मृत्यु भएको तथ्यांक छ । लामो समयको लकडाउनले अर्थतन्त्र जर्जर बन्यो । जसको असर अहिलेसम्म छ । २०७० मा ५.९९ प्रतिशतले आर्थिक वृद्धि भएकामा भूकम्पका कारण २०७२ मा ०.४३ प्रतिशतमा खुम्चियो । अझ कोभिड महामारीले अर्थतन्त्र २.३७ प्रतिशतले ऋणात्मक बन्न पुग्यो । यसकारण पनि यो यस दशककै अर्को कहिल्यै बिर्सन नसकिने घटना हो ।
यसबीचमा नागरिकलाई त्राण दिने केही घटना नभएका होइनन् । जस्तै, भारतले अतिक्रण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पनि यही दशकमा जारी भयो । त्यसमा पनि दलहरु एक ठाउँमा उभिए । २०७८ र २०७९ मा भएका तीन तहका निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल मिलेर जाँदा एमाले अधिकांश स्थानमा एक्लै चुनावमा गयो । त्यो त्यही चुनाव थियो जहाँ स्थानीय तहमा बालेन्द्र शाह र हर्क साम्पाङजस्ता स्वतन्त्रहरुको उदय भयो ।
वैकल्पिक शक्तिको रुपमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी बलियो संसदीय शक्तिका रुपमा दृश्यमा आयो । मधेशमा जनमत पार्टीले पुराना शक्तिहरुलाई छायामा पार्यो । नयाँ पात्र र शक्तिले आशा थप्दा पुरानाहरु सरकार बनाउन र भत्काउन आफ्नै गठबन्धन बनाउन र भत्काउन उद्यत रहँदा स्थिरता कायम हुन सकेन । चुनावका लागि गठबन्धन गरेका दल चुनावपछि सरकार बनाउन्जेल टिक्न सकेनन् । भ्रष्टाचार र अनियमितताका ठूला काण्डहरुमा भने दलहरु कहिले आफ्ना नेतालाई जोगाउन एक ठाउँमा उभिए भने कहिले सत्तामा पुग्नका लागि विभाजित बने ।
ठुला र चर्चित काण्डले बितेको दशकलाई कति सम्झनालायक, कति बिर्सनलायक बनाए । त्यो ललितानिवास काण्ड होस् वा नक्कली भुटानी शरणार्थी काण्ड । दशकभरिमा बारम्बार गरी झन्डै सात हजार किलो सुन तस्करी गरेर नेपाल भित्र्याइयो । यी घटनामा भएका अनुसन्धानले कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, माओवादी नेता कृष्णबहादुर महराजस्ता ठुला र प्रभावशाली नेताहरुलाई समेत जेल पुर्यायो । राजनीतिक नेतृत्व कसरी यस्ता काण्डमा संलग्न हुन्छन्, कसरी जोगिन्छन् भन्ने उदाहरण नेपाली जनताले हेर्न पाए ।
रोजगारी सिर्जनामा सरकारका कार्यक्रमहरु असफल प्राय: रहे । अर्थतन्त्र सुधारको गतिमा कुनै उत्साह देखिएन । सामाजिक न्याय र सुशासनमा समेत खास उल्लेखनीय काम भएको देखिएन भलै हरेक सरकारले समृद्धि र विकासको नारा छोडेनन् । वार्षिक सात लाख नेपाली रोजगारी वा अन्य बहानामा विदेश गइरहेको तथ्यांकले नागरिकमा निराशा छ भन्ने देखाउँछ पनि । आवधिक निर्वाचन, समावेशी समानुपातिक सिद्धान्तअनुसार राज्य सञ्चालन र संघीयताको कार्यान्वयनका विषयमा सकारात्मक रहे । तर संक्रमणकालीन न्यायको विषयले यो दशकमा पनि टुंगो पाएन जसका कारण झन्डै तीन दशकअघिदेखिको द्वन्द्वको घाउ अझै चहराइरहेको छ । चहराउने घटनाहरु अरु पनि थुप्रै छन्, तर नागरिकको घाउमा मल्हम लगाएका घटना पनि नभएका होइनन् ।
प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने कार्यक्रम, हरेक स्थानीय तहमा अस्पताल निर्माणको योजना जस्ता पहल सकारात्मक रहे । कार्यान्वयन भने फेरि कमजोर नै छ । नयाँ दशक आरम्भको यो चरणमा अहिले पनि व्यवस्था परिवर्तन कि अवस्था परिवर्तन भन्ने बहस जारी छ । नेपाली जनताले ७० वर्षसम्म संघर्ष गर्दा पनि स्थिर राजनीतिक प्रणाली पाएका छैनन् । तर अब के बुझ्न जरुरी छ भने विश्वमा सबैभन्दा उन्नत व्यव्थालाई स्थापित भइसकेकाले अर्को व्यवस्था खोज्नु मूर्खता मात्र हुनेछ ।
व्यवस्था आफैंमा राम्रो र नराम्रोभन्दा पनि सञ्चालन गर्ने नेतृत्वको कार्यशैलीले त्यसलाई राम्रो नराम्रो बनाउँछ । यदि अहिले दलहरुको कार्यशैलीका कारण यो व्यस्था बद्नाम भइरहेको छ भने व्यवस्था होइन निर्वाचनमार्फत गलत गर्ने नेतृत्व बदल्ने क्षमता नेपाली जनतामा छ । नयाँ दशकको आरम्भ हुँदै गर्दै समस्त नेपालीको सपना अझै पनि छ- शान्ति, स्थिरता र समृद्धि । आउँदा वर्षहरु र आउने दशकले हरेक नेपालीको सपना पूरा होओस्, आफ्नै देश सुखी र सम्पन्न बनेको देख्न हामी सबैले पाऔं ।