आईसीसीको पक्राउ पुर्जी ‘यहुदी विरोधी’ : इजरायली प्रधानमन्त्री नेतन्याहू

मंसिर ७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
आईसीसीको पक्राउ पुर्जी ‘यहुदी विरोधी’ : इजरायली प्रधानमन्त्री नेतन्याहू

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)द्वारा आफू विरुद्ध जारी गरिएको पक्राउ पुर्जी ‘यहूदी विरोधी’ निर्णय भएको भन्दै आलोचना गर्नु भएको छ । नेतन्याहूले आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत् आफूहरूले गाजामा नागरिक हताहति रोक्न सबै सम्भव प्रयास गरेकाले आईसीसीले पक्राउ पुर्जी जारी गर्नु गलत रहेको बताउनु भएको हो ।

गाजामा युद्ध अपराध गरेको भन्दै आईसीसीले नेतन्याहू विरुद्ध हिजो मात्र पक्राउ पुर्जी जारी गरेको थियो ।

गाजाका जनतालाई सात लाख टन खाद्यान्न पठाए पनि आईसीसीले आफूहरू विरुद्ध जानाजानी भोकमरीको नीति अपनाएको आरोप लगाएको समेत उहाँले बताउनु भएको छ । आफूहरूले सर्वसाधारणलाई हानि नहोस् भनेर आक्रमणपूर्व नै लाखौँ पटक सन्देश र पर्चाहरू फालेको समेत नेतन्याहूको भनाइ छ । साथै हमासले गाजाका नागरिकहरूलाई हानि पुर्‍याएको र आक्रमणबाट बँच्न ढालको रूपमा प्रयोग गरेको उहाँको आरोप छ ।

नेतन्याहू बाहेक आईसीसीले पूर्वरक्षामन्त्री योआभ गालान्ट र हमास कमान्डर मोहम्मद दिएफ विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर, हमास कमान्डर गत जुलाईमै मारिइसकेको इजरायलले बताउँदै आएको छ । यद्यपि, आईसीसीले हमासको कमान्डरलाई मृत मानेको छैन । आईसीसीले नेतन्याहू विरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा अमेरिकाले पनि आपत्ति जनाएको छ भने नेतन्याहू र उहाँका सहयोगीले युद्ध अपराध गरेको भन्दै यूरोपियन युनियन र नेदरल्यान्ड्सले पक्राउ पुर्जीको समर्थन गरेका छन् ।