काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन नहुने आफ्नो पार्टीको अडान रहेको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजना अन्तर्गत नेपालले अनुदान सहायता लिँदा राम्रो हुने आफ्नो पार्टीको धारणा रहेको उहाँले बताउनु भएको हो ।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता महतले चीनसँग सो परियोजनामा आफू परराष्ट्रमन्त्री हुँदा सम्झौता भएको र सम्झौतामा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरू भएकाले त्यसलाई अनुदानको रूपमा अघि बढाउन उपयुक्त हुने स्पष्ट पार्नु भयो । उहाँले मुलुक धेरै ऋणको भारमा रहेकाले कुनै पनि देशसँग थप ऋण लिन नहुने तर्क समेत गर्नु भयो ।
प्रवक्ता महतले चीनले अनुदान सहायता दिने कुरा विगतमा गरेकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “बीरआईबारे कांग्रेसको केही पनि दोधार नीति छैन । अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो हामीले । हामीले बीआरआई हुँदैन पनि भनेका छैनौं ।”
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा सो परियोजनाको कार्यान्वयन योजनामा पनि हस्ताक्षर गर्नुपर्ने चीन सरकारको प्रस्ताव छ ।