कैलाली । गृहमन्त्री रमेश लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले साझा धारणा बनाएर समझदारीका आधारमा अघि बढ्ने बताउनु भएको छ । बिहीबार कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले बीआरआईमा अनुदान लिने तर ऋणका रूपमा भने स्वीकार नगर्ने भनेर नेपाली कांग्रेसले यसअघि नै औपचारिक निर्णय गरेको बताउँदै एमालेसँग त्यस विषयमा छलफल गरेरै निष्कर्षमा पुगिने स्पष्ट पार्नु भयो ।
गृहमन्त्री लेखकले सात वटै प्रदेशहरूको सुरक्षा अवस्थाको बारेमा जानकारी लिई थप सुरक्षा योजना बनाउने उद्देश्यले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सुरूआत गरिएको पनि बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशबाट सुरू गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले नयाँ योजना बनाउन सघाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । मंगलबार र बुधबार कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको समेत उहाँले जानकारी दिनुभयो ।
सहकारी सम्बन्धी देखिएको समस्या समाधानका लागि सरकारले मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँड गरिरहेका र यस विषयमा परेका उजुरीका आधारमा अदालत र सुरक्षा निकायले अनुसन्धान गरिरहेकाले यसलाई राजनीतीकरण गर्न नहुने मन्त्री लेखकको भनाइ छ ।
गृहमन्त्री लेखकले आफ्नै गृह जिल्ला कञ्चनपुरमा २०७५ साउन १० गते भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान जारी रहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनसम्म नै नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन कायम रहने दाबी गर्दै दुवै दलबीचको सहमतिमा सरकार सञ्चालन भइरहेको जिकिर गर्नुभयो ।