वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने र संघीयता ल्याउनसमेत मधेशको महत्त्वपूर्ण भूमिका रहेको भन्दै संघीय सरकारले त्यसलाई उपेक्षा गर्न नमिल्ने बताएका छन् । मधेसले अधिकारविनाको संघीयता अपनाउनुपरेको भन्दै उनले गुनासो गरे ।
कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा गरेको ‘वीरगन्ज वाणी’ कार्यक्रममा मुख्यमन्त्री यादवले संविधान लागु गर्ने बेला वीरगन्जका बासिन्दाले नाकाबन्दीका कारण भइरहेको अप्ठ्यारो र व्यापार घाटा सहेरै भए पनि संघीयता ल्याउन भूमिका खेलेको स्मरण गराए । उनले वीरगन्जले केन्द्र सरकारलाई धेरैथोक दिएको तर केन्द्र सरकारले चाहिएको दिएको छ ? भन्दै प्रश्न गरे । संघीयता आएको सात वर्ष भइसक्दा पनि केन्द्रको हस्तक्षेप कायमै रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री यादवले संघीय सरकारको अघिल्लो गठबन्धन छँदा मधेशमा सिँचाइ व्यवस्थापनका लागि करिब एक अर्बको परियोजना अघि सारेर टुंगोमा पुग्नै लाग्दा केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेपछि अलपत्र परेको उदाहरण दिए । संघीय सरकारले बजेट बनाउँदा प्रदेशका उद्योगी व्यवसायीसँग पनि सल्लाह गर्न उनको सुझाव थियो । मुख्यमन्त्री यादवले जनसंख्याका आधारमा बजेट विनियोजन गर्न संघीय सरकारलाई आग्रह गरे ।
कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैलाश सिरोहियाले अस्थिर आर्थिक नीतिका कारण उद्योगी व्यवसायीको मनोबल खस्किँदै गएको बताए । उनले आमनागरिकदेखि उद्योगी व्यवसायीका समस्यालाई प्राथमिकतामा राखेर कान्तिपुर मिडिया ग्रुपले गरिरहेको प्रदेशस्तरमा आर्थिक बहस कार्यक्रमले आर्थिक उन्नतिको ढोका खोल्ने बताए ।
वीरगन्ज वाणीअन्तर्गत चार सत्रमा बहस भइरहेका छन् । पहिलो सत्रमा ‘उद्योग र व्यापार, खोई पूर्वाधार’ विषयमा तथा दोस्रो सत्रमा ‘वीरगन्जको विरासत’ विषयमा बहस भएको थियो । तेस्रो सत्रमा अर्थतन्त्र उकास्न स्थिर नीति र चौथो सत्रमा अर्थमन्त्रीलाई प्रश्नैप्रश्न विषयमा बहस हुनेछ । बहसमा तीनै तहका सरकारका प्रतिनिधि तथा उद्योगी, व्यवसायी तथा सरोकारवालाहरुको सहभागिता छ ।