अहिलेको संविधानबाट समाजवादमा पुगिँदैन : प्रधानमन्त्री दाहाल

सत्तामा बसेरै सडक संघर्षको चेतावनी
सरकार र संसदलाई पनि प्रयोग गर्ने उद्घोष
चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
अहिलेको संविधानबाट समाजवादमा पुगिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदमै बसेर सडक संघर्षको कुरा गरेका छन् । ‘समाजवादी मोर्चा-नेपाल’ले काठमाडौंमा आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक’ अन्तर्क्रियामा मोर्चाका नेताहरुले वर्तमान संविधानबाट समाजवादमा नपुगिने तर्क गरेका छन् ।

प्रधानमन्त्री दाहालले समाजवाद ल्याउन सडक संघर्ष गर्नुपर्ने बताए । उनको तर्क छ, अहिलेको संविधानबाट समाजवाद ल्याउन सकिँदैन । वर्तमान संविधानबाट समाजवाद आउँदैन भन्नुको अर्थ संविधान संशोधन गर्ने हो वा फेर्ने त्योचाहिँ उनले प्रस्ट पारेनन् । तर समाजवाद ल्याउन संसद् र सरकार दुवैको उपयोग भने गर्ने उनले बताएका छन् ।

प्रधानमन्त्री दाहालले संसद, सरकारको उपयोग गर्दै सडक स‌ंघर्षबाट समाजवाद ल्याउनुपर्ने बताएका हुन् । अहिलेको संविधानबाट समाजवाद ल्याउन नसकिने उनको दाबी छ ।

प्रधानमन्त्री दाहालले वामपन्थी विचारकहरुलाई समाजवादी मोर्चामा एक हुन आग्रह गरे । कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको निर्वाचन प्रणालीबाट समस्याको समाधान हुन नसक्ने दाबी गरे । दलहरुले गरिरहेको गल्तीलाई निर्वाचन प्रणाली गलत भएको भन्दै उनले ढाकछोपको प्रयास गरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि समाजावादको बाधक संविधान भएको तर्क गरेका छन् । नातावाद परिवारवादका कारण पनि समाजवाद नआएको उनले बताए ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भने अहिलेको व्यवस्थाबाट केही उपलब्धि प्राप्त भए पनि पूर्णता हासिल गर्न बाँकी रहेको बताए । सिस्टमले काम गर्न छोडेको उनको टिप्पणी छ । कार्यक्रममा विश्लेषकहरुले भने समाजवादी मोर्चाप्रति नै आशंका व्यक्त गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.