कर्णालीमा एमालेलाई नेतृत्व दिने केन्द्रको सहमतिले माओवादीमा विवाद

स्थानीय परिस्थिति नबुझेको नेताहरूको गुनासो
मुख्यमन्त्री शर्माले आजै विश्वासको मत लिने
चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
कर्णालीमा एमालेलाई नेतृत्व दिने केन्द्रको सहमतिले माओवादीमा विवाद

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । संघमा नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शर्माले आइतबार नै विश्वास  लिनेसम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए । तर, केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिले भने माओवादीमा असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री शर्मा र उनको मन्त्रिपरिषद्का सदस्यहरू आज विश्वासको मत लिने र शर्माकै नेतृत्वमा सरकार विस्तार गर्ने पक्षमा छन् ।

केन्द्रमा भएको सहमति मुख्यमन्त्रीलाई जानकारीसमेत नगराएको उनीहरूको गुनासो छ । उनीहरूलाई माओवादी उपमहासचिव जनार्दन शर्मासहितका नेताहरूको साथ छ ।  तर, माओवादीकै प्रदेश इन्चार्ज कालीबहादुर मल्लले भने केन्द्रमा भएको सहमति कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् । 

गठबन्धन परिवर्तनसँगै एमालेले कर्णाली प्रदेशको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिने/नदिने विषयमा छलफल भई नसकेको जनाएको छ। सत्ता समीकरण बदलिएसँगै गत फागुन २२ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिएको थियो । त्यससँगै ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.