गृहमन्त्रीको राजीनामा माग्दै आएको कांग्रेस एकाएक लचिलो, एमाले भन्छ- गलिसक्यो

चैत्र १८, २०८० |प्रकाश बम
गृहमन्त्रीको राजीनामा माग्दै आएको कांग्रेस एकाएक लचिलो, एमाले भन्छ- गलिसक्यो

काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने दोषी रहेको दाबीसहित आक्रामक बन्दै आएको नेपाली कांग्रेस लचिलो बन्दै गएको छ । एकातिर गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस क्रमशः लचिलो बन्दै जानु, अर्कोतिर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिचको निरन्तरको भेटघाटले केही प्रश्न उब्जिएका छन् । 

आइतबार संसद् बैठकको कारबाही सुरु हुनेवित्तिकै कांग्रेसका सबै सांसद उठेर विरोध जनाए । सभामुखले कांग्रेसका सांसद सञ्जय गौतमलाई बोल्नका लागि समय पनि दिए । त्यसपछि काग्रेसले पूर्ववत् अडान दोहोर्‍यायो ।

यो विषयमा सुरुमा निकै कडा देखिएको कांग्रेस चैत्र १४ गतेको राज्य व्यवस्था समितिको  बैठक देखि लचिलो बन्दै आएको छ । आइतबार पनि संसदमा सांसद गौतम अघिल्लो बैठकमा बोलेको प्रमुख सचेतक रमेश लेखक र महामन्त्री गगन थापा भन्दा कहीँ लचिलो देखिए । रोस्ट्रम घेराउसम्मको चेतावनी दिएको कांग्रेसले आफ्नो भनाइ राख्यो र चुप लाग्यो ।

बैठक नियमित रूपमा अघि बढ्यो । छलफलमा कांग्रेस सांसद सहज रूपमा भाग लिए । राजधानी बाहिर भएका संसदलाईसमेत बैठकमा अनिवार्य भाग लिन निर्देशन दिएको कांग्रेस एकाएक किन लचिलो बन्यो ? नेपाली कांग्रेसले भने जिम्मेवार प्रतिपक्षको भूमिका खेलेको दाबी गर्न छोडेको छैन । 

प्रतिपक्षमा रहँदा जुनसुकै मुद्दामा पनि छानबिन समितिकै माग गर्ने नेकपा एमाले अहिले सत्ता गठबन्धनको प्रमुख घटक हो । हुन त प्रतिपक्षको मागमा देखाउनुपर्ने गम्भीरता उसले देखाएको छैन, तर उसैको बुझाइमा पनि प्रतिपक्षमा रूपमा गलिसकेको छ ।

नयाँ समीकरण निर्माण भएपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तीनपटक भेटवार्ता भएको छ । बालुवाटारमा एक्ला एक्लैसमेत भएको भेटपछि त्यसैको प्रभावस्वरुप आफ्नै मागमा कांग्रेस लचिलो बनेको अनुमान पनि धेरैको छ । माओवादी केन्द्रका नेताहरू पनि त्यसलाई नकार्दैनन् ।

उसो त कांग्रेसका पदाधिकारीहरू कांग्रेस फेरि सरकारमा आउने बताउन थालिसकेका छन् । उसैको नेतृत्वमा गठबन्धन बन्ने दाबी गर्न पनि थालेका छन् । एमालेसँग भित्री रूपमा त्यसका लागि छलफल सुरु गरेको स्वयं कांग्रेसी नेताहरू बताउँछन् । यससँगै कांग्रेसकै सबै सांसदले समेत अपनत्व नलिएका कारण संसदमा कांग्रेसको बोली लरबराउन थालेको हो ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।