प्रतिनिधिसभामा प्रि-बजेट छलफलका लागि भोलि प्रस्ताव पेस हुने

फाल्गुन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभामा प्रि-बजेट छलफलका लागि भोलि प्रस्ताव पेस हुने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटबारे पूर्वछलफलका प्रतिनिधि सभामा भोलि प्रस्ताव पेस हुने भएको छ । सांसदहरूलाई बजेट निर्माणमा सहभागी गराउने उद्देश्यले यस पटकदेखि सदनमा प्रिबजेट छलफल गर्न लागिएको हो । कार्यव्यवस्था समितिको आजको बैठकले भोलि प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।

आजको संसद् बैठकमा भने विपक्षी सांसदले विवादमा तानिएका मन्त्रीहरूलाई सरकारबाट हटाउनुपर्ने लगायत माग राखेका थिए । 

बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटन मन्त्रालयमा नयाँ जहाज खरिदमा १८ करोड कमिसनको खेल भएको सूचना आफूसँग रहेको आरोप लगाए। एमालेका सांसद भीम आचार्यले प्रधानमन्त्रीलाई प्रभावमा पारेर हवाई माफियाले नेपाली आकाश नै कब्जा गर्न खोजेको आरोप लगाए ।

सांसदहरूले मिटरब्याजपीडितका माग, सहकारी ठगी, बाँदर आतंक र शैक्षिक बेरोजगारी लगायतका विषय उठाएका थिए । 

सभामुख देवराज घिमिरेले आज पनि सांसदहरूले उठान गरेका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए । आजको बैठकमा राजनीतिक दल विभाजन गर्न ४० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्थासहितको दल विभाजन सम्बन्धी विधेयक पनि पेस गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.