सदनमा प्रतिपक्षीले उठाएका मुद्दामा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

फाल्गुन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
सदनमा प्रतिपक्षीले उठाएका मुद्दामा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षीले सदनमा उठाएका मुद्दाको सुनुवाइ गर्न सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले अघिल्लो बैठकमा आफूहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्‍मा नआएको भन्दै आक्रोश व्यक्त गरे । प्रधाननमन्त्रीले जवाफ नदिई संसद्लाई छलेर हिँडिरहेको भन्दै उनले सभामुखलाई पुनः रुलिङ गर्न पनि आग्रह गरे । 

एमाले सांसदहरुले आज पनि सदन अवरुद्ध गर्न खोजेपछि सभामुख घिमिरेले प्रतिपक्षीले उठाएका मुद्दाको सुनुवाइ गर्न सरकारलाई रुलिङ गरेका हुन् । 

एमालेले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई सरकारबाट हटाउनुपर्ने माग राखेको छ ।

बैठकमा सत्तापक्ष नेपाली कांग्रेसकै सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किरातीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको भन्दै उत्पादन नै बन्द भइसकेका जहाज ल्याउन खोजिएको विषयमा सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको बताए । 

सांसदहरुले सहकारी तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न, दूग्ध किसानलाई भुक्तानी दिन, मधेश प्रदेशको शिक्षामा ध्यान दिन, ख्वपः विश्वविद्यालय सम्बन्धी विधेयक ल्याउन र बाँदरले किसानलाई दुःख दिएको समस्या समाधान गर्नुपर्ने लगायतका माग गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.