कांग्रेस महासमितिबाट चारवटै प्रस्ताव पारित, सत्ता गठबन्धनलाई निरन्तरता दिए पनि आगामी चुनाव एक्लै लड्ने

फाल्गुन १०, २०८० |कान्तिपुर टीभी संवाददाता
कांग्रेस महासमितिबाट चारवटै प्रस्ताव पारित, सत्ता गठबन्धनलाई निरन्तरता दिए पनि आगामी चुनाव एक्लै लड्ने

काठमाडौं । नेपाली कांग्रेसले अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिने तर आगामी चुनावमा भने अरु दलसँग गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको छ । ललितपुरको गोदावरीमा चार दिनसम्म चलेको कांग्रेस महासमितिले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने सुझाव प्रतिवेदनमा थपेको हो । महासमितिले चारवटै प्रतिवेदन पारित गरेको छ ।

महासमिति समापनअघि सभापतिसहित पदाधिकारी र पूर्वपदाधिकारीले समेत कांग्रेसले नयाँ सन्देश दिएको बताए । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक तथा लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन महासमिति बैठकले सर्वसम्मत पारित गरेको हो ।

चारवटै प्रस्तावमाथि समूहगत छलफलपछि प्रदेश सभापतिहरुले सुझावसहित धारणा राखेका थिए । त्यसपछि आवश्यक संशोधनसहित ती प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिएको थियो । बैठकले सुझाव समेट्ने गरी चारवटै प्रस्तावहरु सर्वसम्मत रुपले पारित गरेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

सुझावहरुलाई पछि केन्द्रीय समितिले समावेश गरेर दस्ताबेजहरुलाई अन्तिम रुप दिनेछ । बैठकमा महामन्त्री थापाले २०८४ को निर्वाचनमा गठबन्धन नगर्ने भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसमा पार्टीभित्र विवाद र सत्ता गठबन्धनभित्र समेत बहस भएको थियो ।

महासमिति बैठकमा सहभागी प्रतिनिधिहरुले समेत आगामी चुनावमा गठबन्धन गर्ने वा नगर्ने विषयमा फरक-फरक सुझाव दिएका छन् । केही प्रतिनिधिले गठबन्धन गर्दा कांग्रेसकै मतदाताले रुख चिह्‍नमा मतदान गर्न नपाएको बताएका छन् भने कतिपयले कांग्रेस एक्लै चुनावमा जाँदा कम्युनिस्टहरुबीच गठबन्धन हुनसक्ने धारणा राखेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement