सत्ताका लागि मरिमेट्ने दाहालले छाड्लान् त नेतृत्व ?

माघ २९, २०८० |विकास आचार्य
सत्ताका लागि मरिमेट्ने दाहालले छाड्लान् त नेतृत्व ?

काठमाडौं । ३५ वर्षदेखि पार्टीको नेतृत्वमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व परिवर्तनका लागि तयार रहेको बताएका छन् । आज पार्टी केन्द्रीय समितिको बैठक समापन गर्दै दाहालले आफूसहित पुराना पदाधिकारी सबैले पद त्यागेर नयाँलाई जिम्मा दिन सकिनेसम्मको आश्वासन दिए । तर, उनै दाहालले यसैसाता पार्टी कार्यालयमा बोल्दै अझै केही समय पहिलेकै नेतृत्व निरन्तर रहने बताएका थिए ।

सत्ता र शक्तिका लागि जसो पनि गर्न सक्ने नेताको छवि बनाएका दाहालले अब नेतृत्व छाड्लान् र पुस्तान्तरण होला भन्नेमा माओवादीभित्रै धेरैलाई विश्वास छैन । के दाहाल नै सर्वकालीक हुन् ? वा नेतृत्व छाड्न सक्ने उनको भनाइ फेरि पनि कार्यकाल लम्ब्याउने चालबाजी हो ?

माओवादी केन्द्रीय समिति बैठकमा करिब पाँच सय केन्द्रीय सदस्यका अगाडि अध्यक्ष दाहालले सोमबार भने- आवश्यक परे सबै पदाधिकारीले पद छाडेर नयाँ पुस्तालाई जिम्मा लगाउन पर्न सक्छ । यो भनाइ सामान्य नभएर निर्देशनात्मक अभिव्यक्ति थियो ।

यसअघि अन्य मञ्चमा पार्टी नेतृत्वमा आफ्नो विकल्प नदेखेको बताइरहेका अध्यक्ष दाहालको यो पछिल्लो भनाइप्रति भने माओवादीकै धेरै नेता विश्वस्त छैनन् । किनभने अप्ठ्यारो परिस्थिति र आलोचित अवस्था आएमा अध्यक्ष दाहालले रुपान्तरणको कुरा गरिहाल्छन् । तर बलियो बन्नासाथ आफ्नै वाचा बिर्सन्छन् भन्ने पार्टी पंक्तिले बुझेकै छ । त्यसो त उनले पार्टी कार्यालयमा एकसाता अघि मात्रै सबै परिवर्तनको रक्षा गर्न अहिलेकै नेतृत्व चाहिने बताएका थिए ।

के माओवादीमा पार्टी हाँक्ने अरु नेता नै छैनन् ? पार्टी नेता राम कार्कीलाई भने नेतृत्व हाँक्न सक्ने नेताहरु तयार भइसकेको लाग्छ ।

तर, अध्यक्ष दाहालको विकल्प नै नदेख्ने युवा समूहको प्रवृत्तिले माओवादीमा नेतृत्व हस्तान्तरण धकेलिँदै गएको हो । सार्वजनिक खपतमा भने युवा पुस्ताले नेतृत्व परिवर्तनको कुरा गरिरहन्छ ।

६९ वर्षका दाहाल २०४३ सालको सेक्टर काण्डपछि पार्टी नेतृत्वमै छन् । २०५२ सालमा विद्रोही थाल्दा होस् वा ०६२/६३ सालको शान्तिप्रक्रियापछि, माओवादी दाहालकै वरिपरि छ । मूलधारको राजनीतिमा आएपछि पनि १४ वटा सरकार बन्दा माओवादी छुटेको छैन । तीमध्ये तीनवटा सरकारको नेतृत्व दाहाल आफैंले गरे । पार्टी टुटफुट र विभाजनबाट पनि गुज्रियो । तर दाहाल जिम्मेवारी छाड्ने कुरा गर्दैनन् । बरु जबजब पार्टीभित्र आफूमाथि आक्रमण हुने सम्भावना देख्छन्, नेतृत्व परिवर्तनको भावनात्मक कुरा गर्ने पुरानै रणनीति अपनाइहाल्छन् ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।