माओवादी केन्द्रको बैठकमा सरकार र नेताहरूको कार्यशैलीको आलोचना

पार्टी सरकारमा हुँदा पनि द्वन्द्वपीडितले न्याय नपाएको गुनासो
अध्यक्ष दाहालले आज जवाफ दिने
माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रको बैठकमा सरकार र नेताहरूको कार्यशैलीको आलोचना

काठमाडौं । केन्द्रीय समिति बैठकको पहिलो दिन नै पार्टी र सरकार सञ्चालनका विषयमा चर्को आलोचना खेपेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज जवाफ दिँदै छन् । हिजोको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीले सरकारको नेतृत्व गर्दासमेत द्वन्द्वपीडितले न्याय नपाएको, सरकारको कार्यशैली सन्तोषजनक नभएको तथा नेताहरूको जीवनशैली अविश्वसनीय रूपमा फेरिएको भन्दै दाहालको आलोचना गरेका थिए ।

राष्ट्रिय सभागृहमा बसेको केन्द्रीय समिति बैठकमा नेताहरूले नेतृत्व तहबाटै गुटबन्दी मौलाएको र विपरीत खेमाको आलोचना गरेर पार्टीमा द्वन्द्व बढाउने काम भएको भन्दै सुध्रन नेत‌ृत्वलाई सुझाएका थिए । बैठकमा सातै प्रदेशका इन्चार्ज र सह-इन्चार्जहरुले पार्टीले सञ्चालन गरेको चार महिने रूपान्तरण अभियान र पार्टी गतिविधिबारे प्रतिवेदन पेस गर्दै धारणा राखेका थिए । 

त्यस्तै पार्टीले द्वन्द्वपीडित, घाइते, अपाङ्गता भएका र बेपत्ता पारिएकाहरुलाई उपेक्षा गरेको गुनासो गर्दै नेताहरूले सरकारको नेतृत्व गरेका बेलासमेत ती समस्या समाधान नगरे पार्टी झनै ‌ओरालो लाग्ने चेतावनी दिएका थिए ।

हिजोको बैठकमा धारणा राखेका अधिकांशले २०६२/६३ पछि पार्टी सत्तामा रहँदा पनि जनमत खुम्चँदै गएकोमा गम्भीर समीक्षा गर्नु पर्ने बताएका थिए । उनीहरूले चार महिने रूपान्तरण अभियानले जनतामा आशा जगाएको र निरन्तर जनतासँग संवाद गर्ने कार्यक्रम ल्याउनु पर्ने पनि बताएका थिए । 

आज प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जवाफ दिने छन् । विधान अधिवेशनको तयारी स्वरूप माओवादी केन्द्रीय समिति बैठक बसेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.