माओवादी केन्द्रीय समिति बैठकमा नेतृत्वको आलोचना

पार्टीमा गुटबन्दी मौलाएको भन्दै कार्यशैली परिवर्तन गर्न सुझाव
माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रीय समिति बैठकमा नेतृत्वको आलोचना

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टीमा गुटबन्दी मौलाएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । आज सुरु केन्द्रीय समिति बैठकमा नेताहरुले कार्यशैली परिवर्तन गर्न पनि नेतृत्वलाई सुझाव दिएका छन् ।

राष्ट्रिय सभागृहमा बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले शीर्ष नेतृत्वको सकारात्मक कामको प्रशंसा नगर्ने र विपरीत खेमाको आलोचना गरेर पार्टीमा द्वन्द्व बढाउन उद्धत रहेको भन्दै सुध्रन नेत‌ृत्वलाई सुझाएका छन् ।

बैठकमा सातै प्रदेशका इन्चार्ज र सह-इन्चार्जहरुले पार्टीले सञ्चालन गरेको चार महिने रुपान्तरण अभियान र पार्टी गतिविधिबारे प्रतिवेदन पेस गर्दै धारणा राखेका थिए । त्यस्तै पार्टीले द्वन्द्वपीडित, घाइते, अपांगता भएका र बेपत्ता पारिएकाहरुलाई उपेक्षा गरेको गुनासो गर्दै नेताहरुले सरकारको नेतृत्व गरेका बेलासमेत ती समस्या समाधान नगरे पार्टी झनै ‌ओरालो लाग्ने चेतावनी दिएका थिए ।

केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश वक्ताले ०६२/६३ पछि पार्टी सत्तामा रहँदा पनि जनमत खुम्चँदै गएकामा गम्भीर समीक्षा गर्नुपर्ने बताएका थिए । उनीहरुले चारमहिने रुपान्तरण अभियानले जनतामा आशा जगाएको र निरन्तर जनतासँग संवाद गर्ने कार्यक्रम ल्याउनु पर्ने पनि बताएका थिए ।

बैठक भोलिसम्म चल्नेछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले सबै नेताहरुको सुझाव र धारणा सुनेर भोलि नै जवाफ दिने कार्यतालिका छ । 

यो पनि...

माओवादीको निष्कर्ष- रूपान्तरण अभियान सफल भयो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.