माओवादीको निष्कर्ष- रूपान्तरण अभियान सफल भयो

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
माओवादीको निष्कर्ष- रूपान्तरण अभियान सफल भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा सातवटा भौगोलिक र अन्य तीनवटा गैरभौगोलिक गरी १० प्रदेशका इन्चार्ज र अध्यक्षहरुले अभियानको प्रतिवेदन राख्दै बोलेका थिए । त्यस्तै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले पनि बोलेका थिए ।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने सबै नेताहरुले विशेष रुपान्तरण अभियान सफल र सार्थक भएको प्रतिवेदन पेस गरेको जानकारी दिए । उनले अभियानका क्रममा ७५ प्रतिशत नेता, कार्यकर्ता परिचालित भएका र अभियानले जनतामा माओवादी केन्द्रप्रति आशा जगाएको दाबी गरे ।

‘समग्रमा भन्नुपर्दा ७५ प्रतिशत नेता, कार्यकर्ताहरु परिचालित भएका छन् । ती कार्यकर्ताहरुले जनतामा केही आशा जगाएका छन् । आमनेता र कार्यकर्ताले जनताको कुरा सुनेका छन् । समाजसेवा गरेका छन् । विकास निर्माणको काममा सहभागि पनि भएका छन्,’ उनले भने, ‘जबसम्म मोर्चा र पार्टी चलायमान, गतिशील, जीवन्त भएको छ । आजको रिपोर्टमा जोड दिएर सबै इन्चार्ज र अध्यक्षहरुले के भन्नुभएको थियो भने अभियानभन्दा पहिला हाम्रो पार्टीबाट अन्यत्र जाने क्रम बढेको थियो । अभियान सुरु भएपछि अन्य पार्टीबाट आउने क्रम बढेको छ ।’

बैठकमा बोल्ने नेताहरुले आगामी दिनमा पार्टी नेता, कार्यकर्ताहरुको कामको आधारमा मूल्यांकन गर्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिनुपर्ने व्यवस्था गर्न मागसमेत गरेको सापकोटाले उल्लेख गरे । अभियानले पार्टी नेता तथा कार्यकर्ताहरुको मूल्यांकनको आधार पनि राम्रो बनेको प्रवक्ता सापकोटाको भनाइ छ ।

‘अभियानले कसले कति काम गर्‍यो ? कसले गरेन ? को सक्रिय भयो, भएन भन्ने कुरा धेरै राम्रोसँग थाहा भएको छ र मूल्यांकनको आधार राम्रो बनेको छ । वक्ताहरुले के भनेका छन् भने- अब कामका आधारमा मूल्यांकन गरेर जो सक्रिय छ, सक्रियताको आधारमा, कामको आधारमा मूल्यांकन गरेर राम्रोसँग खट्नेलाई प्रोत्साहन गर्नुपर्‍यो । तिनीहरुलाई पुरस्कारको व्यवस्था पनि गर्नुपर्‍यो । नखट्नेहरुलाई दण्डित पनि गर्नुपर्‍यो भन्नेखालको आज रिपोर्टमा आएको छ,’ प्रवक्ता सापकोटाले भने ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमबार (भोलि) बिहान ११ बजे पुनः बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.