सरकारलाई संसदीय समितिको निर्देशन- अध्यागमनसम्बन्धी कानुन समयानुकूल बनाऊ

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारलाई संसदीय समितिको निर्देशन- अध्यागमनसम्बन्धी कानुन समयानुकूल बनाऊ

काठमाडौं । संसदीय समितिले अध्यागमनसम्बन्धी विद्यमान कानुन तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनसम्बन्धी विद्यमान ऐन, नियम तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको हो । समयानुकूल हुनेगरी विधेयक तत्काल परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

त्यसैगरी बैठकले मानव तस्करी नियन्त्रण र खुला सीमा सुरक्षा कडा जाँचको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । भिसासम्बन्धी समस्या समाधान गर्न पनि सरकारलाई भनिएको समितिका सभापति खतिवडाले जनाए । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ ।

‘अध्यागमन सम्बन्धमा विद्यमान ऐन, नियममा समयानुकूल परिमार्जन गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने । मानव तस्करी नियन्त्रण गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने । भिसा समस्या समाधान गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने । भिक्षुहरुलाई श्रम भिसा दिनुभन्दा आवश्यक ऐन परिमार्जन गर्न नेपाल सरकारलाई निर्देशन दिने । सडकमा रहेका माग्नेलाई व्यवस्थित गर्न गृह मन्त्रालयलाई निर्देशन दिने । खुला सीमा सुरक्षा व्यवस्था कडा बनाउन नेपाल सरकार गृह मन्त्रालयले समन्वय गर्ने,’ सभापति खतिवडाले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी एयरपोर्टमा जनशक्ति अपुग भएकालेमा थप जनशक्ति व्यवस्थापन गर्न र बाहिरबाट आउँदा त्यहाँ भिड नदेखिने गरी यात्रुलाई सहजता दिन आवश्यक पहल गर्ने । राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।’

समितिले सडकमा रहेका भोकानांगा नागरिकको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.