
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२६ को फाइनलमा आइतबार राति दुई अपराजित शक्ति इंग्ल्यान्ड र अस्ट्रेलिया आमनेसामने हुँदैछन् ।
लड्र्समा घरेलु समर्थकको साथ रहेको इंग्ल्यान्डले महिला क्रिकेटको सर्वाधिक सफल टोली अस्ट्रेलियालाई कसरी रोक्ला ?
विश्वकप फाइनलको चरम दबाबबीच दुई अपराजित टोलीबीचको यो भिडन्त महिला क्रिकेट इतिहासकै सबैभन्दा रोमाञ्चक बन्ने निश्चित छ ।
आईसीसी महिला टी–२० विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल आइतबार नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुँदैछ । ‘होम अफ क्रिकेट’ का रुपमा परिचित लड्र्समा दुई शक्तिशाली र सधैंका प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अस्ट्रेलिया आमनेसामने हुनेछन् ।
लड्र्सको ऐतिहासिक वातावरण, विश्वकपको दबाब र दुई अपराजित टोलीबीचको टक्कर यो महिला क्रिकेट इतिहासकै सबैभन्दा प्रतिष्ठित र भावनात्मक भिडन्तमध्ये एक हुनेछ । अझ रोचक कुरा के भने, दुवै टोलीले यस प्रतियोगितामा अहिलेसम्म हारको स्वाद चाखेका छैनन् ।
इंग्ल्यान्डले यस विश्वकपमा सुरुदेखि नै आफ्नो प्रभुत्व देखाएको छ । समूह चरणदेखि सेमिफाइनलसम्म लगातार ८ खेल जितेको आयोजक इंग्ल्यान्डले सन्तुलित, योजनाबद्ध र उच्चस्तरीय क्रिकेट खेलेको छ । सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ४० रनको जित हात पार्दासम्म इंग्ल्यान्डले कुनै पनि क्षण दबाब महसुस गरेको छैन ।
इंग्ल्यान्डको सफलताको मुख्य आधार उसको सन्तुलित टोली संयोजन हो । ओपनर ड्यानी वायट–हजले २ सय ९४ रन बनाएकी छन् । उनी प्रतियोगितकै सर्वाधिक रनकर्ता हुन् । मध्यक्रममा हेदर नाइटको अनुभव इंग्ल्यान्डका लागि अमूल्य सावित भएको छ ।
कप्तान नाटले पनि ब्याट र बलबाट उत्कृष्ट योगदान दिँदै आएकी छन् । बलिङतर्फ चार्ली डीन र सोफी एक्लेस्टोनले विपक्षी ब्याटरलाई चल्न दिएका छैनन् । पछिल्ला ९ मध्ये ६ संस्करणको च्याम्पियन अस्ट्रेलिया महिला क्रिकेटमा सबैभन्दा सफल टोली हो ।
यसपटक पनि अपराजित अस्ट्रेलियाले सेमिफाइनलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस यात्रामा बेथ मुनी र एलिसे पेरीले सानदार ब्याटिङ गरेका छन् भने जर्जिया वेयरहम र कप्तान सोफी मोलिन्यूले उत्कृष्ट बलिङ गरेका छन् ।
एश्ली गार्डनर, एनाबेल सदरल्यान्ड र टालिया म्याक्ग्राथको अलराउन्ड प्रदर्शनले अस्ट्रेलियालाई अपराजित बनाएको हो । महिला टी–२० विश्वकप फाइनलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई पराजित गर्न सकेको छैन । दुई टोली यस अघि २०१२, २०१४ र २०१८ मा फाइनलमा आमनेसामने हुँदा अस्ट्रेलियाले च्याम्पियन बनेको थियो ।
इंग्ल्यान्डले भने २००९ मा सम्पन्न पहिलो संस्करणको उपाधि जितेको थियो । महिला टी–२० विश्वकपमा जितेको यो नै उसको एकमात्र उपाधि हो । तथ्य र इतिहासलाई हेर्दा, अस्ट्रेलिया बलियो देखिन्छ । तर, घरेलु समर्थक माझ लड्र्समा इंग्ल्यान्डलाई कमजोर आकलन गर्न सकिँदैन ।