सिँचाइ पुगेपछि बाँकेका किसान धमाधम धान रोप्दै

असार २०, २०८३ |रेजिना मल्ल
सिँचाइ पुगेपछि बाँकेका किसान धमाधम धान रोप्दै

बाँके । धान रोप्ने समयमा सिँचाइको अभावले हरेक वर्ष सास्ती खेप्दै आएका बाँकेका किसानहरु यसपटक भने सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छाडिदिएपछि ठुलाे राहत पाएका छन्। 

समयमा आकासबाट पानि नपर्दा धान रोपाइँ नै प्रभावित पो हुने होकी ? भन्ने चिन्तामा रहेका किसानहरु नहरको पानी पुगेसँगै अहिले धमाधम धान रोपाइँमा व्यस्त छन्। आकाशबाट पानी नपरे पनि सिक्टा सिँचाइ आयोजनाको नहरबाट आएको पानीले बाँकेका किसानलाई समयमा धान रोप्ने आधार दिएको छ। 

कोहलपुर, खजुरा, जानकी, बैजनाथ, डुडुवा र नरैनापुरका विभिन्न क्षेत्रमा पनि नहरको पानी पुगेपछि किसान धमाधम रोपाइँमा जुटेका छन्। किसानका अनुसार यसले वर्षामाथिको निर्भरता घटाएको छ। सीक्टा सिँचाइ आयोजनाले बाँकेको करिब ४३ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । 

आयोजनाका अनुसार हालसम्म करिब २२ हजार हेक्टरमा मात्रै सिँचाइ सुविधा विस्तार भएको छ। निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि थप क्षेत्रफलमा सिँचाइ सेवा पुग्ने अपेक्षा गरिएको छ। मूल नहर निर्माणमा कमजोर गुणस्तरको काम, भ्रष्टाचार भएको भन्दै परेको मुद्दा मामिलाले राष्ट्रिय गौरवको यो आयोजना निर्माण सम्पन्न हुन भने अझै केही वर्ष लाग्ने देखिएको छ ।

पर्याप्त वर्षा नभए पनि समयमै नहरमा पानी पुगेकाले किसान उत्साहित छन्। सिँचाइ सुविधा विस्तारसँगै यस वर्ष धान उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ। सिक्टा सिँचाइ आयोजनाको पानीले बाँकेका किसानका लागि राहत मात्रै होइन, कृषि उत्पादन बढाउने भरोसासमेत दिएको छ।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।