नेपाली सांसदहरुको टोली दिल्लीमा

माघ १७, २०८० |राजेश मिश्र
नेपाली सांसदहरुको टोली दिल्लीमा

नयाँदिल्ली । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका ८ जना सांसदहरु भारत भ्रमणमा आएका छन् । भारतीय लोकसभाको विदेश मामिला समितिको निमन्त्रणामा नेपाली सांसदहरुको टोली नयाँ दिल्ली आएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सांसदहरुको टोलीले भारतको संसद तथा समितिहरुले कसरी काम गरिरहेको छ त्यसबारे प्रत्यक्ष अनुभव बटुल्नेछ । भारतको लोकसभाका तर्फबाट पठाइएको औपचारिक निमन्त्रणालाई स्वीकार गरेर आफूहरु भ्रमणमा आएको समितिका सभापति यादवले जानकारी दिए ।

'धेरै पहिलेदेखि लोकतान्त्रिक अभ्यासमा रहेको भारतले यतिका वर्षमा व्यवस्थापिकाको कार्य कसरी गरिरहेको छ, त्यसबारे जान्ने बुझ्ने तथा अनुभव साटासाटका लागि भ्रमण उपयोगी हुनेछ,' यादवले भने । नेपाली टोलीले बुधबार नै भारतको नयाँ संसद भवनको अवलोकन तथा लोकसभाका अध्यक्ष ओम बिड्लासँग भेट्ने कार्यक्रम छ । त्यस बाहेक संसदका अन्य पदाधिकारीहरु तथा विदेश मामिला समितिसँग नेपाली टोलीले अन्तरक्रिया गर्दैछ । व्यवस्थापिका मार्फत दुई देशको सम्बन्ध बढोस् र सांसदहरुबीच दुई पक्षीय भ्रमणको आदानप्रदान होस् भन्ने आफूहरुको चाहेको यादवले बताए ।

नेपाली टोलीमा यादवसहित सांसदहरु क्षिरिङ शेर्पा, गंगाराम चौधरी, योगेश गौचन, शिशिर खनाल, सम्झना थपलिया, सुनिता बराल र हरिप्रसाद उप्रेती छन् । त्यस्तै, समितिका सहसचिव बबिता मिश्र र शाखा अधिकृत प्रमिला पौडेल गौतम पनि टोलीमा सामेल छन् । सांसदहरुले भारतीय विदेशमन्त्री एस. जयशंकर तथा पर्यटनमन्त्री जी किसन रेड्डीलाई पनि भेट्ने कार्यक्रम छ ।

नेपाली टोली नेता यादवले सरकारी अधिकारी तथा मन्त्रीहरुसँगको भेटमा आफूहरुले नेपाली पक्षको सरोकारका विषयहरु उठाउने बताए । प्रधानमन्त्री तहमा भएका सहमति तथा सम्झौताहरुको कार्यान्वयनमा हुने गरेको ढिलाइ बारे आफूहरुको चासो रहने उनको भनाइ छ । त्यसबाहेक जनस्तरबाट उठ्दै आएका कतिपय मुद्दाहरु पनि उठाइने उनले जानकारी दिए ।

मंगलबार आइपुगेका सांसदहरुको टोलीले दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्मा तथा दूतावासका अधिकारीहरुसँग छलफल गरेको थियो । भारत प्रस्थानपूर्व भारतमा उठाउन सकिने विषयबारे टोलीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा वैदेशिक मामिलाका जानकारहरुसँग पनि छलफल गरेको थियो ।

दिल्लीपछि नेपाली टोलीको गोवा, मुम्बई तथा लखनऊ र बनारस भ्रमणको कार्यक्रम छ । नेपालमा लगानी सम्मेलन हुन लागेकाले मुम्बईमा उद्योगी-व्यवसायीसँगको भेटमा त्यसबारे पनि जानकारी गराउने यादवले बताए । राज्यका मुख्यमन्त्रीहरुसँग पनि नेपाली टोलीको भेटघाट हुनेछ ।


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।