हेटौंडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले काठमाडौंका प्रशान्त अधिकारीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यहरुमा काठमाडौंका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेको बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । यस्तै बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रदेशका विभिन्न स्थानमा कारागार र प्रहरी भवन संरचना सुधारका लागि ५ करोड बजेट ५६ लाख रुपैयाँ खर्च गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
जनचेतनामूलक प्रचार सामग्री निर्माण प्रशारण तथा वितरण कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि-२०८०, द्वन्द्वपीडितका लागि सवलीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० समेत स्वीकृत गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सभा सदस्य गीता गुरुङका लागि हेयरिङ मेसिन खरिद गर्न स्वीकृत प्रदान गरेको छ । एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८० स्वीकृत भएको छ ।
बागमती प्रदेशमा चालु रहेको एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि दोस्रो संसोधन २०८०, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको नि:शुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि २०८० र दुर्गम क्षेत्र चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०८० स्वीकृत गरिएको छ ।