विचाराधीन १३ विधेयक टुङ्गो नलाग्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्योलमा

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
विचाराधीन १३ विधेयक टुङ्गो नलाग्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्योलमा

काठमाडौं । प्रतिनिधिसभाको तेस्रो अधिवेशन अर्थात् विधेयक अधिवेशन बोलाउने तयारी भइरहँदा संसदीय समितिहरूले भने छलफलमा रहेका  विधेयकलाई अन्तिम रूप दिन सकेका छैनन् । सरकारले हिउँदे अधिवेशनका लागि ७ वटा  विधेयक संसद्मा दर्ता गर्ने तयारी गरे पनि दर्ता भने गराइसकेको छ ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिमा ११ महिनादेखि १३ वटा महत्त्वपूर्ण  विधेयक छलफलमा छन् । समितिहरूले  समितिमा विचाराधीन विधेयकलाई टुङ्गोमा पुर्‍याउन नसक्दा संसद् अधिवेशन बोलाउने मितिबारे  सरकार पनि अलमलमा छ ।

सांसदहरूकै कारण पनि कानुन निर्माणमा ढिलाइ भइरहेको स्वयं समितिका सभापतिहरू स्विकार्छन् । कतिपय समितिमा सदस्य रहेका शीर्ष नेताहरू नै बैठकमा उपस्थित नहुँदा महत्त्वपूर्ण विधेयकमाथिको छलफल नै प्रभावित भएको सभापतिहरूको भनाइ छ ।

राज्य व्यवस्था र शिक्षा समितिमा सबैभन्दा बढी ४- ४ वटा विधेयक विचाराधीन छन् । कानुन समितिमा २ तथा कृषि,अन्तर्राष्ट्रिय र पूर्वाधार समितिमा १-१ वटा विधेयक छन् । सरकारले यसबीचमा संसद् सचिवालयमा दुईवटा विधेयक दर्ता गराएको छ भने राष्ट्रियसभाले दुईवटा विधेयक सन्देशसहित प्रतिनिधिसभालाई पठाएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि संसदीय समितिमै अड्किएको छ । यति धेरै विधेयक विचाराधीन हुँदा कुनै पनि विषयगत समितिले विधेयकलाई टुङ्गो लगाउन सकेका छैनन् ।

संसद्को हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन भनिन्छ । समितिमा विचाराधीन विधेयकहरू समितिबाट पारित भएमा संसद्ले बिजनेस पाउनेछ ।

नौ महिनासम्म सभापति चयन गर्न नसकेको आलोचना खेपेको संसद्ले पहिलो र दोस्रो अधिवेशनबाट जम्मा ४ वटा विधेयक पारित गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.