सरकार सुशासनका पक्षमा लागेको देखेर भ्रष्टहरु अत्तिए : प्रधानमन्त्री दाहाल

मंसिर ३, २०८० |महेश केसी
सरकार सुशासनका पक्षमा लागेको देखेर भ्रष्टहरु अत्तिए : प्रधानमन्त्री दाहाल

रुकुम पूर्व । वर्तमान सरकार भ्रष्टाचारी र भू-माफियाका विरुद्धमा डटेर अघि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सुशासनका पक्षमा लागेको देखेर भ्रष्टाचारीहरु आत्तिएको दाबी गरेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १, मैकोटमा आज ‘मइँ छिउ सगराँत उत्सव २०८०’ को उद्घाटन गर्दै उनले यस्तो जनाएका हुन् ।

भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध सरकार लागेको दाबी गर्दै यसै कारण सरकार विरोधीहरुले आफू फस्ने ठानेर सरकार र गठबन्धन भत्काउन अनेकन कोसिस गरिरहेको उनको भनाइ छ । ‘हाम्रो कामलाई मन नपराउनेहरु सलबलाउने कोसिस गरिरहेका छन्,’ उनले भने, ‘तर यो सरकार निडर भएर अघि बढ्छ । पाँच वर्षसम्म यो गठबन्धन रहन्छ ।’

समाजवादको आधार तयार गर्न सरकार र गठबन्धन दलहरु लागिरहेको दाबी गर्दै प्रधानमन्त्री दाहालले नागरिकता विधेयक र मिटरब्याजीका विरुद्धमा कानुन नै ल्याएर जनतालाई न्याय दिलाएको पनि धारणा राखे ।

हिमाली जिल्ला रुकुम पूर्वको विकासका लागि आफूले विशेष ध्यान दिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालले आफूले नगरेको गल्तीको सजाय पाइरहेको पनि बताए । ‘जलवायु परिवर्तनका असरहरु कम गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको छ । धनी देशले गरेको गल्तीको क्षति हामीले बेहोर्नुपरिरहेको अवस्था छ,’ उनले भने, ‘अब यसो हुन दिनु हुँदैन । यसकारण जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरुमा यो विषयलाई नेपालले जोडतोडका साथ उठाउनुपर्छ र उठाइन्छ ।’ साथै उनले धनी देशका कारण जलवायु परिवर्तनको असर नेपालजस्ता गरिब राष्ट्रले बेहोर्नुपरिरहेको भन्दै ‘क्लाइमेट फन्ट’ बाट आफूहरुले क्षतिपूर्ति पाउनुपर्ने दाबीसमेत गरे ।

रुकुम पूर्वको विकास र जहाँको जनजीविकालाई सहज बनाउन आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै प्रधानमन्त्री दाहालले निर्माणाधीन मध्यपहाडी राजमार्ग र सहिद मार्गको निर्माणमा भइरहेको ढिलाइमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले भनेका छन्, ‘यी दुई आयोजनाको कामलाई गति दिन यहाँबाट फर्केलगत्तै आवश्यक निर्देशन दिएर काम अगाडि बढाउन लगाउनेछु ।’

पुथा उत्तरगंगा गाउँपालिका १ नम्बर वडा कार्यालयद्वारा आयोजना गरिएको ‘मइँ छिउ सगराँत उत्सव २०८०’ यही मंसिर ८ गतेसम्म सञ्चालन गरिने वडाध्यक्ष वीरमान विकले जानकारी दिए । यस उत्सावका सन्दर्भमा फुटबल र भलिबलजस्ता विभिन्न खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिने अध्यक्ष विकको भनाइ छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।