प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद्‌को आकस्मिक बैठक

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद्‌को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । उनले आइतबार १२: ३० का लागि बैठक बोलाएका हुन् ।

चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । मूल्यवृद्धिका कारण सरकारको आलोचना हुनेसक्ने भन्दै यसबारेमा छलफल गर्न दाहालले बैठक बोलाएको बुझिएको छ ।

‘केही समय यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ (एलपीजीसमेत) मा मूल्यवृद्धि भएको र सोहीअनुसार नेपाल आयल निगमले मूल्यवृद्धि गरेको देखियो। नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनीतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ।‘ प्रधानमन्त्रीको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दाहालबीच भएको समहमति अनुसार यही बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको निर्णय गर्ने छ । यसअघि आजै दाहाल-ओलीबीच बालुवाटारमा भएको छलफलमा उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको थियो । उक्त आयोगको कार्यादेशमा पनि सहमति जुटेको छ । सोही सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय गर्ने जनाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.