तीनमहिने घरदैलो अभियानमा माओवादी सक्रिय

आश्विन २, २०८० |अवतार राई
तीनमहिने घरदैलो अभियानमा माओवादी सक्रिय

काठमाडौं । पार्टीको टुटफुट र आमजनतामाझ लोकप्रियता गुमाउँदै गएपछि नेकपा माओवादी केन्द्र तीनमहिने विशेष रुपान्तरण अभियानअन्तर्गत जनताको घरदैलो गरिरहेको छ । गत दुई सातामा ८० प्रतिशतभन्दा बढी वडामा पुगेको माओवादीले दाबी गरेको छ । अभियानका क्रममा जनताले माओवादी नेताहरुसँग युद्धकालमा बाँडिएका आश्वासन पूरा नगरेको गुनासो पोखेका छन् ।

२०६४ को संविधानसभा निर्वाचनमा पहिलो दल बनेको माओवादी अहिले तेस्रो हैसियतमा छ । संविधानसभाको दोस्रो निर्वाचन मात्र होइन, संविधान जारीपछिका दुई निर्वाचनमा झन्-झन् कमजोर बनेपछि अहिले तीनमहिने घरदैलो अभियानमा सक्रिय छ । यसक्रममा जनताले सशस्त्र युद्धताका ग्रामीण बस्तीमा बाँडेको आश्वासन पूरा गर्न नसकेको गुनासा नेताहरुलाई सुनाएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनाए ।

खिइँदै गएको पार्टीको विरासत जोगाउने अन्तिम प्रयासका रुपमा माओवादीले यो अभियानलाई लिएको छ । शान्तिप्रक्रियाले निष्कर्ष पाउन सकेको छैन । हजारौ बेपत्ता, सहिद, अपांग घाइतेहरुको जीवन कष्टकर छ । अभियानमार्फत जनताका यस्ता गुनासा सम्बोधन गर्ने प्रयत्नसमेत गरिने माओवादी प्रवक्ता अग्नि सापकोटाको भनाइ छ ।

गत १५ दिनमा वडा वडामा पुगेका नेताहरुले आन्तरिक गुटबन्दी, अन्तरविरोध, अन्तर्घात र जनताबाट टाढिनु नै पार्टी कमजोर बन्नुको कारण रहेको प्रारम्भिक निष्कर्ष निकालेका छन् । वैचारिक कार्यक्रम, कार्यदिशा र व्यवहारमा फराकिलो अन्तर देखिन थालेको माओवादीले पहिले आफूलाई रुपान्तरण गरे मात्र जनतामा विश्वास जित्न सकिने र आगामी निर्वाचनमा थप बलियो बन्ने आधार निर्माण हुन सक्ने धेरैको बुझाइ छ । 


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement