यस्तो छ प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको तालिका

भाद्र ३१, २०८० |कान्तिपुर टीभी संवाददाता
यस्तो छ प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको तालिका

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्यूयोर्क पुगेका छन् । प्रधानमन्त्रीसहितको ११ सदस्यीय टोली हिजो साँझ प्रस्थान गरेको थियो ।

प्रधानमन्त्री दाहाल असोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । यस्तै असोज ४ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले सम्वोधनमा विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धता समावेश गर्नेछन् । उनले न्युयोर्कमा संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलाई समेत सम्बोधन गर्नेछन् ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यतालिका छ । उनले विभिन्न देशका आफ्ना समकक्षीसँग समेत भेटवार्ता गर्नेछन् ।

सरकारको प्रवक्ता रेखा शर्मा प्रधानमन्त्री भ्रमणबारे जानकारी दिँदै भन्छिन्, ‘तीन शीर्षकको कार्यक्रममा सहभागी हुनुहुन्छ । जलवायु परिवतर्न, कम विकसित राष्ट्र र नेपालको शान्ति प्रक्रियाकोबारेमा थप स्पष्ट पार्नका लागि सम्बोध गर्ने तालिका छ ।’

प्रधानमन्त्री दाहालले असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने ।

प्रधानमन्त्री दाहाल असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणमा जानेछन् । चीनको हाङझाउमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने कार्यतालिका छ । उनी १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।

बेइजिङमा असोज ८ मा प्रधानमन्त्री ली छियाङसँग द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्नेछन् ।

उनले तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको टोली चीनबाट १३ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.