बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्न चाहन्छु : ओली

भाद्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्न चाहन्छु : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने जनाएका छन् । अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे ।

शनिबार भक्तपुरमा आयोजित ‘बासँग विद्यार्थी’  कार्यक्रममा बोल्दै उनले  आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने उल्लेख गरे । त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेकोसमेत जनाए । बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उनको भनाइ थियो ।

‘अहिले पनि मेरो बुबा लगभग म जत्तिकै तगडा हुनुहुन्छ । मेरो बुबा नै म जति तगडा हुनुहुन्छ भने, अहिले पनि २/४ किलोमिटर मेरो बुबा हिँड्नुहुन्छ भने मेरो बुबाले लौरो टेक्नु हुन्न अहिले पनि । मेरो बुबा नै त्यति तगडा हुनुहुन्छ भने मैले २० वर्ष त सक्रिय रहने विचार गरेको छु,’ ओलीले भने, ‘तर २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरुलाई सहयोग गर्छु सक्रिय रहेर । एउटा के प्रचलन छ भने मान्छे बाँचुन्जेलसम्म पद छोडने नखोज्ने, पदमै टाँसिन खोज्ने, आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस् । बोल्न सकोस कि नसकोस् । तर पनि पदमा बसिरहन चाहने । त्यो प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई चाहीँ मैले सचेततापूर्वक तोड्न चाहन्छु ।’

ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्नेसमेत उल्लेख गरे ।

‘२० वर्षपछि नेपालको दुर्दशाको, नेपालको दूरदिनको अन्तिम किस्तामा छौं । यो अहिलेको दूर्दशा, दूरदिन भनेको नेपालको अन्तिम दूरदिन हो । यसभन्दा पछि यस्तो दूरदिन देख्नुपर्दैन,’ उनले भने ‘आज विकास निर्माणको चर्चा छैन । उत्पादन बढेको छैन, घटेको छ । विकास निर्माण भएको छैन, ठप्प छ । सुशासन होइन, कुशासन छ । आर्थिक स्वच्छता, पारदर्शिता होइन, तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी छ ।’

अध्यक्ष ओलीले आफूले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकिरहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्ने जनाए । उनले आफूलाई देश र जनताप्रति माया गर्ने इमान्दार राजनीतिकर्मीको रुपमा बुझिदिन पनि आग्रह गरे।

‘म आफूलाई अब्बल राजनीतिज्ञ त भन्न सक्दिन आफूलाई । यति चाहीँ हो–म इमानका साथ काम गर्छु । इमान्दार प्रयास गर्छु । देशलाई माया गर्छु, जनतालाई माया गर्छु । राष्ट्रको सम्पत्ति कुनै हिसाबले आफ्नो बनाउनु हुन्न भन्ने मान्यता राख्दछु ।’ उनले भने ।

कार्यक्रममा ओलीले आफूलाई देशभक्तिले ओतप्रोत भएको गीत बढी मनपर्ने पनि जनाए । उनले विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रमबाट आफू खुशी भएको प्रतिक्रिया दिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement