प्रधानमन्त्रीले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्ने

भाद्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्ने

काठमाडौं । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्ने भएका छन् ।

माओवादीले शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभाबाट यसलाई निष्कर्षमा पुर्‍याउन विश्व समुदायसँग अपिल गर्ने जानकारी दिएको हो ।

‘शान्ति प्रक्रियाले सफलता पाइसकेको छ । अब घोषणा हुन मात्र बाँकी रहेकाले विश्व समुदायको सहयोगबाट यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ,’ पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यो शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन मुख्यत राष्ट्रिय परिस्थिति नै अनुकूल बनाउनु पर्छ, त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्वपूर्ण भूमिका हुन्छ । त्यस कारण उहाँले एक त यहाँ गर्नु पर्ने कामको प्रतिबद्धता जनाउनु हुनेछ, दोस्रो चाहिँ विश्व समुदायलाई अपिल गर्नु हुनेछ ।’

साथै प्रवक्ता सापकोटाले पार्टीले सञ्चालन गरिरहेको रुपान्तरण अभियान केही वडाबाहेक देशभर सफलताका साथ चलिरहेको जानकारी दिए । मंसिर १५ गतेसम्म यस अभियानमा पार्टीको गुमेको विरासत फर्कने सापकोटाको दाबी छ ।

उनले रुपान्तरण अभियानसँगै विभिन्न विचार मिल्ने पार्टीसँगको एकता प्रयाससमेत भइरहेकाले प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै एकता प्रक्रियाका कामहरु अघि बढ्ने जनाए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.