काठमाडौं । सरकारले संविधान दिवसका दिन असोज ३ गते राष्ट्रपतिबाट वितरण हुँदै आएको विभूषण यसपटक स्थगित गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रत्येक वर्ष वितरण गरिने विभूषणमा सरकारको आलोचना भएपछि यसपटक अध्ययन गर्न कार्यदल गठन गर्ने र त्यसको प्रतिवेदन नआएसम्मका स्थगित गर्ने निर्णय गरेको हो ।
नेपाल सरकार प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार कार्यदललाई अध्ययन प्रतिवेदन बुझाउका लागि तीन महिनाको समय दिइनेछ ।
प्रवक्ता शर्माले भनिन्, गरिमा बढाउन कार्यदल बनाइ विभूषणलाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न कार्यदललाई अन्तर्राष्ट्रिय अभ्यास र कानुनको अध्ययन गर्ने जिम्मेवारी दिइनेछ ।
शुक्रबारको आजको बैठकले कर प्रणाली सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा गठनसमेत निर्णय गरेको शर्माले जानकारी दिइन् ।
शर्माका अनुसार चाडपर्व लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई सामान आयातमा ५० प्रतिशत भन्सार छुट दिने र १० हजार टन चिनी खरिद गर्न अनुमति दिएको समेत निर्णय भएको छ ।
बैठकले शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा देखिएको समस्या समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णयसमेत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले राष्ट्र संघको ७८औं महासभा र चीन भ्रमणमा जाने प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोलीलाई आजकै बैठकले स्वीकृति दिएको हो ।