बजेटमाथिको अन्तर्विरोधमा टेकेर नयाँ समीकरणको कसरतमा एमाले

असार ९, २०८० |राजनीतिक ब्युरो
बजेटमाथिको अन्तर्विरोधमा टेकेर नयाँ समीकरणको कसरतमा एमाले

काठमाडौं । संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ दलभित्र बढेको असन्तुष्टिको प्रभाव राजनीतिक समीकरणमै देखिन थालेको छ । सत्तारुढ दलमा देखिएको असन्तुष्टिमा टेकेर प्रतिपक्षी दल नेकपा एमालेले राजनीतिक समीकरण फेरबदलको प्रयास थालेको छ । कांग्रेस र एमालेका दोस्रो तहका केही नेता अनौपचारिक संवादमा जुटेका छन् । यसको छनक नेताहरुको अभिव्यक्तिबाट पनि देखिएको छ ।

सत्ता गठबन्धनभित्र गडबडी हुन सक्ने चर्चा चलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रसरतामा केही दिनअघि समाजवादी मोर्चा गठन भयो । यो मोर्चामा ५४ सांसद छन् । मोर्चाभित्र रहेका बाहेक प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थन छ । तर अहिले सदनमा बजेटमाथि असन्तुष्टि देखाउँदै त्यसलाई राजनीतिक फेरबदलमा प्रयोग गर्न खोजिएको छ । कांग्रेस महामन्त्री गगन थापा खुलेरै यसको पक्षमा बोल्न थालेका छन् । शनिबार मात्रै पनि महामन्त्री थापाले वर्तमान गठबन्धन ठीक ढंगले अघि नबढे बदलिन सक्ने उद्घोष गरे ।

चित्त नबुझे गठबन्धन फेरिन्छ : गगन थापा

पछिल्ला दिनमा नेकपा एमालेका केही नेता नयाँ समीकरण बनाउन क्रियाशील देखिएका छन् । उनीहरुको प्रयासलाई नेपाली कांग्रेसकै केही नेताले साथ दिन थालेका छन् । दुई हप्ताबीचमा कांग्रेसका शेखर कोइराला, विमलेन्द्र निधि र ज्ञानेन्द्र कार्कीलगायतसँग एमालेका उपाध्यक्ष विष्णु पौडेल, विष्णु रिमाल र महेश वस्नेतले छलफल गरेका छन् । कांग्रेस नेता कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै पुगेर भेटेका छन् । ओलीले नयाँ समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवादसमेत गरेको एमाले नेताको दाबी छ। नयाँ राजनीतिक समीकरण बनाउन ओली सक्रिय रहेको संकेत पाएपछि शुक्रबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै एमाले अहिले सरकार ढाल्न लागेको आरोप लगाएका थिए ।

कांग्रेसका सभापति देउवा सिंगापुरमा रहेका बेला राजनीतिक समीकरण परिवर्तनमा भइरहेका प्रयासलार्इ अर्थपूर्ण मानिएको छ । तर एमालेका नेताहरुले भने यसलाई स्वाभाविक मानेका छन् । दाहाल नेतृत्वको सरकारले गरेको कामप्रति असन्तुष्ट एमाले वैकल्पिक सरकार बनाउने प्रयासमा छ ।

एमालेले अहिलेको राजनीतिक समीकरण परिवर्तन गरेर संविधानको धारा ७६ को ३ अनुसार ठूलो दलको हैसियतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न अनौपचारिक प्रस्ताव गरेको छ । अहिलेकै गठबन्धन कायम रहेमा सभापति देउवाको प्रधानमन्त्री बन्ने पालो २०८३ साल कुर्नुपर्ने छ । त्यतिबेलासम्म फेरि अर्को समीकरण बन्न सक्ने जोखिम देखिरहेका देउवामा अहिले नै प्रधानमन्त्री बन्ने चाहना देखिएको छ । त्यही कारण उनी पार्टीको कार्यवाहक सभापति शेखर कोइराला दिएर एमालेको सहयोगमा प्रधानमन्त्री बन्न तयार रहेको नेताहरुको दाबी छ । देउवाको प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा र दाहाललाई प्रधानमन्त्रीबाट हटाउने एमालेको चाहानाबीच मेल खाएपछि नयाँ समीकरणको कसरत सुरु भएको हो ।