काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले ५० दिनभित्र युक्रेनसँगको युद्ध अन्त्य नगरे रूसका व्यापारिक साझेदारमाथि सय प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ ।
वाशिङ्टनमा नेटो प्रमुख मार्क रूट्टेसँगको भेटपछिको पत्रकार सम्मेलनमा ट्रम्पले उक्त चेतावनी दिनुभएको हो । ट्रम्पले युद्ध नरोकिए रूससँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा सामान बेच्दा सय प्रतिशत कर लाग्ने बताउनुभयो ।
यस कदमले रूसको अर्थतन्त्रमा गम्भीर असर पार्ने ट्रम्पको विश्वास छ । रूसको राजस्वको एक तिहाइभन्दा बढी भाग तेल तथा ग्यास निर्यातबाट संकलन हुने गर्छ । यद्यपि, ट्रम्पको घोषणापछि पनि मस्को स्टक एक्सचेन्ज सूचकांक बढेको छ ।
विश्लेषकहरूले यसको कारण ट्रम्पबाट अझ कडा कदमको अपेक्षा गरिएको तर त्यो नदेखिएको बताएका छन् । पत्रकार सम्मेलनमा ट्रम्पले राष्ट्रपति पुटिनसँगको सम्बन्धबारे पनि बोल्नुभएको थियो । धेरैपटक फोनमा कुरा गरे पनि त्यसपछि युक्रेनमा बम वर्षा हुने भन्दै उहाँले कुरा मात्र काफी नहुने बताउनुभयो । ट्रम्पले पुटिनलाई धोका दिन सिपालु भएको आरोपसमेत लगाउनुभयो ।
राष्ट्रपति ट्रम्पले युक्रेनलाई अत्याधुनिक हतियार दिने घोषणासमेत गर्नुभएको छ । युक्रेनलाई नेटोमार्फत अत्याधुनिक हतियारहरू उपलब्ध गराउने घोषणा ट्रम्पको योजना छ ।
नेटो प्रमुख रूट्टेले पनि अमेरिकाले युक्रेनलाई आवश्यक सबै सामग्रीहरू नेटोमार्फत ठूलो मात्रामा आपूर्ति गर्ने निर्णय लिएको पुष्टि गर्नुभएको छ । उहाँले युरोपेली देशहरूले युक्रेनलाई आफ्नो प्याट्रोइट वायु रक्षा प्रणाली दिने पनि बताउनुभयो ।