देउवालाई गगन थापाको चेतावनी- पार्टीभित्रको बेथिति अब लडेर रोक्ने हो, जुधेर रोक्ने हो

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
देउवालाई गगन थापाको चेतावनी- पार्टीभित्रको बेथिति अब लडेर रोक्ने हो, जुधेर रोक्ने हो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायत काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने जनाए ।

‘केही दिनबीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्त्वपूर्ण दीर्घकालीन महत्त्वको र जनचासोको निर्णयहरु गर्‍यो । एउटा निर्णय आममाफीको विषयमा । जसको बारेमा साथीले चर्चा गर्नुभयो । एउटा निर्णय नागरिकताको विषयमा । एउटा निर्णय प्रदेश सरकारमा कांग्रेसको सहभागिता, सहभागिताको लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा । एउटा निर्णय सरकारले गर्‍यो भर्खर सांसद विकास कोषको सन्दर्भमा । यस्ता कैयन् विषयहरु छन् । जुन विषयहरु मैले लङ लिस्ट भन्नसक्छु,’ महामन्त्री थापाले भने, ‘यी सबै विषयहरुका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नु भएको निर्णयहरु हो । यो निर्णय मैले तपाई भन्दा पछाडि थाहा पाएको हुँ । किनकि पहिला तपाईंले थाहा पाउनुभयो । तपाईंले बाहिर सम्प्रेषित गर्नुभयो । र, मैले त्यसलाई सुने । अब मैले बदल्ने भनेको यो परिपार्टी गएको एक, डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहँदै आएँ । मैले यसलाई मान्दै आएँ । किन मान्दै आए भने सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ । सभापतिले गर्नुहुन्छ, सभापतिले कुनै न कुनै दिन गर्नुहोला, मिलाउनुहोला भन्ने भयो । मैले बदल्ने भनेको मैले नसहनुपर्ने कुरा सहेको हुनाले अब म सहन्न भन्ने कुरा मैले आफूलाई बदल्ने हो ।’

प्रेस युनियन नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सह्‍य नहुने स्पष्ट पारे । अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै महामन्त्री थापाले साथ दिन पार्टी नेता, कार्यकर्तालाई आह्वानसमेत गरे ।

‘मैले मान्दिनँ भन्ने कुरा बदल्ने हो । जुन कुराले पार्टीको हित गरिरहेको छैन । पार्टीको अहिले गरिरहेको कुरा, पार्टीको आधारभूत मान्यतासँग बाँझिने गरी गरिएका जुन निर्णयहरु छन् । ती निर्णयहरुको भारी प्रकारान्तरले हामी पार्टीका तमाम सदस्यरुले बोक्नुपर्ने जुन स्थिति बनेको छ । यो गर्नेक्रमलाई रोक्ने हो,’ थापाले भने, ‘यो गर्नेक्रमलाई अब लडेर रोक्ने हो । जुधेर रोक्ने हो । संघर्ष गरेर रोक्ने हो । किन ? यो रोक्न आवश्यक छ । एकपछि अर्को गलत निर्णय गर्दै गयो भने यो भारीले पार्टी यसरी थिचिन्छ, चाहेर पनि यसलाई कसैले उठाउन सक्दैन । कसैले यसलाई बोक्न सक्दैन ।’

उनले पार्टी सभापति देउवाका एकल निर्णयहरु आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अव त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटकपटक दोहोर्‍याए । कांग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैंलाई बदल्न चाहेको उनको भनाइ थियो ।

‘म यी विषयहरुका सन्दर्भमा पार्टीमा आफूले गरिरहेको ठाउँबाट म अहिलेसम्म जसरी काम गरिरहेको छु । म यो बाम गर्ने तरिकालाई बदल्न चाहन्छु । किन ? मैले आफूलाई बदले भने मात्रै मैले पार्टी बदलिन्छ भनेर भन्न पाउँछु,’ उनले भने, ‘यसरी नै पार्टीका साथीहरु नयाँ भूमिकामा बदलिनुपर्दछ भन्ने ठान्दछु । त्यसको प्रारम्भिक नेपाली कांग्रेसका कुनै पनि सदस्य हामी गुटसँग आबद्ध छौं ।’

महामन्त्री थापाले पार्टीलाई ‘दाइ’हरुको पार्टीका रुपमा नभई तल्लो तहका कार्यकर्ताहरुको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणासमेत गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.